कता जाँदै छ मानव सभ्यता ?

–जेबी पुरी :

हामी भन्ने गर्छौं एक्काइसौं शताब्दी, हो आज हामी एक्काइसौं शताब्दीतिर लम्कँदै छौं । नेपालमा नयाँ संविधानको अभ्यास चलिरहेको छ । संविधान निर्माणमा सहमतिको विन्दु खोज्ने प्रयास भइरहँदा कैलालीमा ७ जना प्रहरीको कत्लेआम हत्यापश्चात् तराईका विभिन्न जिल्लामा भड्किएको आन्दोलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बहस चलेको छ । लामो समय माओवादी जनयुद्धले थङथिलो र छियाछिया बनाएको थियो । विस्तारै शान्ति प्रक्रियामा आएर दुई पटकसम्म संविधानसभाको निर्वाचन हुँदै यस शान्ति प्रक्रियाको अन्तिम घडीको पर्खाईमा रहेको नेपाली जनमानसको मनमस्तिष्क फेरि एकपटक चलमलाएको छ । फेरि कतै गृहयुद्ध त सुरु भएको होइन ? भन्ने विभिन्न अड्कलबाजी सुरु भएको छ । ट्वीटर र फेसबुक प्रयोगकर्ता नेपालीभाषी जहाँ र जुन मुलुकमा रहेको भएतापनि उनीहरुले बेस्सरी भारतलाई गाडीगलौज गरेका छन् । त्यतिमात्र होइन, भारतकै विभिन्न मिडियाले मोदी सरकारको विरोध गरिरहेका छन् । कसैले चीनबाट इन्धन ल्याउने बहस पनि चलाइराखेका छन् । कसैकसैले चीनबाट इन्धनलगायत माल सामान ल्याए भारत रिसाउने जस्ता विषयमा वकालत गर्नेहरुको पनि कमी छैन ।


हो, पक्कै पनि नेपालमा पेट्रोलियम पदार्थको खानी पाइदैन । तर, अन्य वैकल्पिक  उपायहरु भने नेपालमा प्रसस्तै छन् । जलस्रोतको दुनियाँमा विश्वमै दोस्रो धनी छ नेपाल भनेर औपचारिक, अनौपचारिक रुपमा वहस छलफल हुने गर्दछ । त्यस्तै सौर्य ऊर्जा र वायु ऊर्जाको पनि अधिकतम सम्भावना छ । मेरो बाजेले घ्यू खाएका थिए, मेरो पनि मुख चिल्लै छ भनेजस्तै भएर मात्र के गर्ने ? त्यसको उपयोग गर्ने कुरामा भने १ प्रतिशत पनि हामी सफल हुन सकेनौं । भन्ने बेलामा हामी यो गर्छौं, त्यो गर्छौं मात्र भन्छौं । सीमित क्षेत्रमा चल्ने ट्रली बसलाई त थन्क्याएर कवाडीमा परिणत गराए ।


नेपाली नेताहरुले भारतलाई गाली गर्ने भनेको देखावटी मात्रै हो । उनीहरुको राय सल्लाह नलिई न प्रधानमन्त्री चयन हुन्छन्, न त कुनै माथिल्लो निकायका कर्मचारी नियुक्ति नै गर्छन् । सिस्टम जनताले होइन, नेताले बसाल्ने हो । राजनीतिक नेता र त्रिभुवनको मिलेमतोमा राणाशासनको विरुद्ध उत्रिए, त्यसबखत राणा शासन हटाइदिनु प¥यो भनेर उनीहरुले भारतलाई नै पुकारे । पछि महेन्द्रले पञ्चायती व्यवस्था कायम गर्न पनि भारतकै सहयोगमा गर्न पुगे । पछि नेपाली काँग्रेस–कम्युनिष्टले पञ्चायत विरुद्ध बहुदलीय व्यवस्थाका कायम गराउन भारतकै सहयोगमा भारतमै बसेर विभिन्न चरणको आन्दोलन चलाए । त्यसमा पनि निर्दलीय सरकारलाई कमजोर बनाउन भारतलाई नाकाबन्दी गर्न सल्लाह दिए । सोही बमोजिम भारतले त्यसबेला १३ महिनासम्म नाकाबन्दी ग¥यो । हाल मधेशवादी नेताहरुले प्रदेश नामांकन र सीमांकनका कुरा झिकेर आन्दोलन चर्काएका छन्, उनीहरुले नै नाकाबन्दी गर्न लगाएका हुन् । सीधै भारतले आन्तरिक मामिलामा हात हालेको भने होइन । एउटा रोचक प्रशंग यहाँ राख्न चाहन्छु, कुकुर र विरालाको बीचमा एउटा रोटी फेला परेछ । ती दुई जनावरको बीचमा बराबर भाग लगाउन मुस्किल परेछ । अब उनीहरुले रोटी भाग लगाउनका लागि तेस्रो पक्षको खोजी गर्दै गएछन् । त्यसै मौकामा एउटा बाँदर उनीहरुको अगाडि आएर ठीकै छ, म भाग लगाइदिन्छु भनेर हाँक दिएछ, उनीहरुले पनि त्यही खोजी राखेका थिए । रोटीलाई दुई टुक्रा पारेर तराजुको दुवैतिर एक–एक टुक्रा राखेछ, पक्कै पनि बराबर त भएन । फेरि बढी भएको तिरको रोटी चुँडेर आफूले खाएछ । जुन भागको रोटी बाँदरले चुँडेर खायो, त्यतितिर कम भइसकेको थियो । फेरि अर्कोतिर बढीभएको भागतिरको रोटी क्वाप्प खायो बाँदरले । एवं रितले बढी भएतिरको रोटी चुँड्दै खाँदै गर्दै रोटीको शेष पनि बचेन छ । रोटी खाइसकेपछि बाँदर एकातिर फुत्त उफ्रिएर रुख चढेछ, कुकुर र विरोलो हेरेको हे¥यै भएन् । त्यस्तै नामांकन र सीमांकन अनि स्वायत्त प्रदेश बनाउने नाममा नेपाललाई पनि अर्कैले कतिखेर कब्जा जमाइ सक्छ, हाम्रा नेपालका नेताहरुलाई थाहै हुँदैन ।


घर झगडामा छिमेकी गुहार्ने परम्परा नयाँ होइन, पहिलो कुरा मुलुकलाई संघीय प्रणालीमा लैजाने भन्ने सवालमा बुझ्नु पर्ने कुरा के छ भने केन्द्रीय शासन व्यवस्थाले सबै क्षेत्रका जनताको सेवामा ध्यान पु¥याउन नसक्ने भन्ने हो । संघीय शासन प्रणाली आफैमा  नराम्रो पनि होइन । तर, नेपालको सन्दर्भमा भन्ने हो भने जातीयताको आधारमा संघीयता राज्य बनाइनु भनेको समाधानको सही बाटो कदापि हुन सक्दैन । एउटा कारण त कुनै जातिको पनि एकल बसोबास नेपालको कुनै पनि क्षेत्रमा छैन । उदाहरणको लागि तराईमा मधेशकेन्द्रीत दलहरुले पहाडसँग मधेशलाई जोड्न नहुने अडान राख्दै आन्दोलनरत छन् । लिम्बुवान राज्यको माग गर्दै पूर्वका केही जिल्ला अस्तव्यस्त छ । मानौं तराईलाई पहाडसँग छुट्याएर छुट्टै तराई प्रदेश बन्ला । केही समयको लागि समाधान पनि होला । तर, त्यसभित्र रहेका सबै समुदायको सम्बोधन हुन सक्छ ? यो एउटा जटिल प्रश्न बनेको छ । नेपालमा त्यस्ता कैयौं जातजातिहरु छन् । जुन आदिवासी जनजाति, भनिएको छ, उनीहरुभित्र जाति, उपजाति छन् ? त्यसको ख्याल सबैलाई हुनुपर्ने हो । तामाङ, शेर्पा, राई, लिम्बुआदि के उनीहरुले एकअर्काको अस्तित्व स्वीकार्न सक्लान् ? माथिल्लो भेगमा बस्ने शेर्पाहरुले सोलुखुम्बु जिल्लाको माथिल्लो भेगलाई लिएर शेर्पा स्वायत्त राज्यको माग गरिराखेकै अवस्था छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायतका जिल्लामा माओवादीको जनयुद्धकालदेखि नै ताम्सालिङ्ग राज्य भनेर स्वघोषणा नै हुँदै आएको छ, के त्यस क्षेत्रमा अन्य जातिजातिहरुले ताम्सालिङ्ग राज्यको अस्तित्वलाई स्वीकार गर्न सक्लान् । भोलि हेलम्बु क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका हेल्मु जातिले आफ्नो छुट्टै पहिचान भएको हेलम्बु स्वायत्त राज्यको माग नगलान् भन्न सकिदैन ।


रह्यो काठमाडौं उपत्यकाको कुरा नेवा राज्य बनाउने भनेर केही समय अगाडि कुरा उठाइएको थियो, अहिले त्यो कुरा ओझेलमा छ । कुनै बेला पुनः कुरा नउठ्ला भन्ने सकिदैन । सम्भव छ, एकल जातीय पहिचानको राज्य बनाउन ? काठमाडौं उपत्यकाभित्र काठमाडौंका लोकलहरुको व्यापार प्रवद्र्धन यसैभित्रका पुराना बसोबासीका कारण मात्र भएको छ ? कदापि छैन, यहाँ नेवार समुदायकै एकजना भद्रभलाद्मी सरले भन्नुभएको उल्लेख गर्नु पर्ने आवश्यक छ । उहाँकै भनाईमा हिजो बाहिरको मानिस नआउँदा न घर भाडामा लाग्थ्यो, न जग्गाको मूल्य नै थियो, न व्यापार नै धेरै हुन्थ्यो । जब बाहिरबाट मानिस उपत्यका भित्रिन थाले, अनि मात्र ती सबै कुरा सम्भव भएको हो भन्नु भएको थियो । अर्को कुरा जो मानिस बसाई सराई गरेर नेपालको विभिन्न भागमा पुगेका छन् । उनीहरुले त्यस ठाउँको लागि योगदान पनि त्यतिकै दिएका हुन्छन् । एकाध तराई क्षेत्रमा कसैकसैले केही बद्मासी गरेका हुन सक्छन् । तर, अधिकांश पहाडी क्षेत्रबाट माइग्रेट हुँदै समथर ठाउँतिर झरेका छन्, उनीहरुले त्यहाँ प्रसस्त पैसा, पसिना बनाएर नै आफ्नो बनाएका छन् । हालसम्मको नेपालको कानुनले मुलुकको कुनै पनि ठाउँमा बसाई सराई गर्न र जमीन, घर किनबेच गर्न कानुनी अधिकार सबैलाई उत्तिकै छ । त्यही अनुरुप गरेका छन् ।


अर्को बिर्सनै नहुने कुरा के छ भने अझ पनि नेपाली–नेपालीबीच सद्भाव भड्किएको छैन । चाहे हिमाली क्षेत्रको होस् वा तराई, पहाड, जो नभए पनि सबै नेपाली । जो सदियौंदेखि त्यसै क्षेत्रमा बसोबास गरिरहेको छ, उनीहरुलाई जो जहाँबाट आए पनि आपत्तिको विषय छैन, उनीहरुलाई जातीय स्वायत्त राज्य चाहिएको पनि छैन । जो आफै खेतीपाती, व्यापार बन्देज गरेर खाँदै आएका थिए, छन् । उनीहरुलाई चाहिएको छैन संघीय, जातीय राज्य, उनीहरुलाई त चाहिएको छ, काम गरेर खाने सहज वातावरण । आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा । यहाँ भन्नु पर्दा जो त्यहाँका सर्वसाधारण मानिसभन्दा फरक शैलीको लुवाई खुवाई गर्छन नेपालको राजधानीलगायत अन्य ठूला सहरमा घरजग्गा खरिद गरेर राम्रै सुविधाभोगी भइसकेका छन् । आफ्ना छोराछोरीलाई सके विदेशमा नसके नेपालकै राम्रो अङ्ग्रेजी विद्यालय, विश्वविद्यालयमा पढाइरहेका छन् । जसको सम्पर्क विभिन्न अन्तर्राष्ट्रिय मुलुकसम्म पुगेको छ । उनीहरुलाई राजनीति गर्ने थलो चाहिएको छ । सोझा जनतालाई मानव ढालका रुपमा उपयोग गर्नु परेको छ ।


केही समय अगाडिको कैलाली घटनालाई नियाल्ने हो भने पनि उक्त कुरा प्रष्ट हुन आउँछ । त्यहाँका सर्वसाधारण मानिसले अञ्चल प्रहरी प्रमुखको हत्या गर्न सक्दैनन् । हामी भन्छौं अब एक्काइसौं शताब्दीतिर आइसक्यौ । तर, त्यस घटनालाई हेर्दा हामी ढुंगे युगतिर त कतै फर्कँदै छैनौं भन्ने लाग्छ । पाँचहजार वर्ष अगाडिको महाभारतकालको पौराणिक इतिहासलाई सम्झिन मन लाग्छ । त्यहाँ लडाई भएका थिए, एउटा नियम हुन्थ्यो, युद्धको घोषणा हुन्थ्यो । युद्ध रोकिन्थ्यो । त्यहाँ युद्धसम्बन्धी नियम थिए, कानुन थियो । कसैलाई पनि पिठ फर्काएर भागेको मानिसलाई शस्त्र, अस्त्र प्रहार गरेर मार्न पाइदैनथ्यो ।


अहिले त युद्ध अपराध सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय कानुनहरु बनिसकेका छन् । खै कहाँ गयो अन्तर्राष्ट्रिय कानुन, त्यसबेला खै कहाँ गयो मानअधिकार सम्बन्धी कानुनहरुले किन काम नगरेको ? फेरि प्रसंग संघीय, जातीय राज्यकै । नेपालमा जातीय राज्य सम्भव छैन । पृथ्वीनारायणकै शब्दमा भन्दा चार जात छत्तीस वर्णको फूलबारी हो नेपाल । अहिले त्योभन्दा बढी जाती, उपजातिहरु भइसकेको अवस्थामा र अन्तरजातीय वैवाहिक सम्बन्धको कारणले गर्दा के बाहुन, राई, के लिम्बु, के मधेशी, के पहाडे, के दलित कसैले पनि छुट्याउनै सक्दैन । हाम्रा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले जुन जातीय राज्य बनाउने अभियानमा मधेशको आन्दोलनलाई हातमा हात साथमा साथ दिएर हिडिरहनु भएको छ । त्यसमा उहाँ आफू कुन राज्यमा बस्ने ? आफ्नै श्रीमतीलाई कुन राज्य दिने ? अनि आफ्नी छोरीलाई कुन जात र कुन राज्य दिने ? यो एउटा सानो उदाहरणमा हो । यस्ता थुप्रै नेताहरु सबै पार्टीभित्र छन् । मधेशमा पनि पहाडकी छोरी विहे गर्ने थुप्रै नेताहरु छन् । पहाडमा मधेशकी छोरी विहे गर्ने पनि हुनसक्छन् । त्यसकारण जातीय राज्य कायम गर्न मुस्किल छ । आफ्नो सभ्यता, पहिचान, पुख्र्यौली धरोहर जोगाउनु पर्छ । मधेशमा मैथली सभ्यता, थारु सभ्यता, भोजपुरी सभ्यता सबैको उत्तिकै महत्व रहन्छ । त्यस्तै पहाडमा पनि किराँत सभ्यता कम पुरानो छैन । आफ्नो सभ्यता र संस्कृति जोगाउने पहल राज्यपक्षबाटै हुन्छ र हुनु पनि पर्छ । सभ्यताका लागि राज्यकै नामांकरण गरिनु पर्छ भन्ने कदापि होइन । अहिले राई किराँत र लिम्बु किराँत दुई भागमा विभाजन भएर छुट्टाछुट्टै किराँत स्वात्त प्रदेश र लिम्बुवान स्वायत्त राज्यको माग गरिरहेका छन् । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा स्वायत्त राज्यको लागि आवाज उठाइरहेका छन् । थकाली, गुरुङ, मगर, जुम्ली, हुम्ली, डोटेली, बझाङी सबै आ–आफ्नो पहिचान झल्कने राज्य मागिरहेका छन् भने कोही माग्ने तयारीमा जुटेका छन् । त्यस्तै दलितहरु पनि गैरभौगोलिक स्वात्त राज्यको माग गरिरहेका छन् । यस्तो अवस्थामा नेपाललाई कति टुक्रामा विभाजन गर्ने ? नेपाल यति धेरै जातजाति भएको मुलुक हो कि कुनै पनि हालतमा एकल पहिचानवादी राज्यको कल्पना गर्न सकिँदैन । मुलुक संघीयतामा गए पनि जातीय राज्य सही समाधानको मार्ग कदापि हुन सक्दैन ।

 

त्यसले हामीबीच फुट र वैमनस्यता ल्याउँछ । हामी मिले सबै नेपाली, एउटै मुटु एउटै रगत, नमिले एकल जातीय राज्य दिए पनि त्यही भित्र मत विभाजन हुन्छ । अनि त्यहाँ पनि फुट सुरु हुन्छ । एउटै हजरत मोहम्मतका अनुयायी होइन, मुसलमानहरु ? उनीहरुबीच किन उठ्यो फरक मत र हाल उनीहरुबीच नै काटाकाट, मारामार भइरहेको छ ? त्यस्तै क्रिश्चियन धर्ममा पनि फरक छ । बुद्धिष्टहरुमा दुई खेमामा छन् । आज मधेशलाई चित्तबुझ्ने गरी संघीय राज्य दिउँला, भोलि त्यही मधेशभित्रकै अर्को गुट निस्कन्छ र राज्य माग्न सुरु गर्छ । त्यसैले जातीय राज्य उपयुक्त समाधान होइन ।

सबै पर्तिकृयाहरु

Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
Sales & Marketing Manager for a reputed Company

Posted: 2017-10-11 12:33:42

# Post : Sales & Marketing Manager No of Vacancies: 1Salary:Negotiable Minimum...
Tour Manager for a reputed Company !

Posted: 2017-10-11 12:32:56

# Post : Travel & Tour Manager - Female/Male No of Vacancies:...
Accountant for Trading Company

Posted: 2017-10-11 12:31:51

# Post:Accountant No of Vacancies: 2Salary:NegotiableMinimum Qualification:BachelorExperience:...
Marketing Manager for a reputed company!

Posted: 2017-10-11 11:51:54

Marketing Manager for a reputed organization ! # Post : Marketing Manager No of Vacancies:...
PHP Developer for IT Company

Posted: 2017-10-11 11:44:25

# Post:PHP Developer No of Vacancies: 2Salary : NegotiableMinimum...
More Jobs