Sunday, 18th August, 2019

कम्युनिष्ट नैतिकता र आदर्श : होची मिन्ह

क्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक निकै गौरवशाली, तर ज्यादै बोझिलो काम हो, एक जटिल, दीर्घकालीन र कठिन सङ्घर्ष हो । बलियो मानिसले मात्र आफ्नो पिठ्युँमा गाह्रो भारी बोकेर लामो यात्रा गर्न सक्छ । यदि क्रान्तिकारीले आफ्नो गौरवशाली क्रान्तिकारी अभिभारा पूरा गर्ने हो भने उसमा क्रान्तिकारी नैतिकताको खँदिलो जग हुनुपर्छ ।

आफ्नो उत्पत्तिको थालनीदेखि नै मानव जातिले बाँच्नका लागि जङ्गली जनावर, मौसम आदि प्रकृतिका विरुद्ध सङ्घर्ष गर्नुपरेको छ । यस सङ्घर्षमा सफल हुनका लागि व्यक्तिमाथि, समूहमाथि, समाजमाथि भरोसा राख्नुपर्छ । एक्लै उसले प्रकृतिलाई जित्न सक्दैन र जीविका चलाउन सक्दैन । बाँच्नका लागि मानिसले खाना र लुगा उत्पादन गर्नुपर्छ । उत्पादनले पनि समूहमाथि र समाजमाथि भरोसा राख्नुपर्छ । एक्लै व्यक्तिले उत्पादन गर्न सक्दैन ।

हाम्रो युग एक सभ्य, क्रान्तिकारी युग हो । त्यसैले सबै काममा समूहको, समाजको शक्तिमाथि झन् बढी भरोसा राख्नु पर्छ । अहिले व्यक्ति समूहवाट झन् छुट्टै रहन सक्दैन । बरु, एक समूहमा, समाजमा सम्मिलित हुनुपर्छ । तसर्थ, व्यक्तिवाद सामूहिकतावादको विपरीत छ, सामूहिकतावाद र समाजवादको अवश्य विजय हुनेछ र व्यक्तिवाद अवश्य बिलाउने छ ।

उत्पादनका तरिका तथा शक्तिहरूको निरन्तर रूपले विकास र परिवर्तन हुन्छ, त्यस्तै मानिसका विचार, सामाजिक व्यवस्था आदिको पनि विकास र परिवर्तन हुन्छ । हामी सबैलाई के थाहा छ भने अतीतदेखि वर्तमानसम्ममा उत्पादनका तरिका रुखका हाँगा र ढुङ्गो बन्चरो प्रयोगदेखि लिएर मेसिन, बिजुली र आणविक शक्तिको प्रयोगसम्म विकसित भएको छ । सामाजिक व्यवस्था पनि आदिम साम्यवादबाट दासप्रथा र सामन्तवाद भएर पुँजीवादसम्म विकसित भएको छ र आज प्रायः आधा मानव जाति समाजवाद र साम्यवादतर्फ बढिरहेका छन् । कसैले पनि यस विकास र प्रगतिलाई रोक्न सक्दैन ।

निजी स्वामित्वको उत्पत्ति भएदेखि समाज वर्गहरूमा विभाजित भएको छ । हरेक व्यक्ति आवश्यकीय रूपले कुनै न कुनै वर्गमा पर्छ र कोही पनि वर्गभन्दा बाहिर रहन सक्दैन । त्यसका साथै, हरेक व्यक्तिले आफ्नो वर्गको विचारधाराको प्रतिनिधित्व गरेको हुन्छ । पुरानो समाजमा सामन्ती, जमिन्दार, पुँजीपति र साम्राज्यवादीहरूले अन्य सामाजिक अङ्गहरूमाथि, खास रूपले मजदुर र किसानहरूमाथि निर्ममतापूर्वक थिचोमिचो र शोषण गर्थे । तिनीहरू समाजद्धारा पैदा गरिएको साझा सम्पत्ति लुटेर आफ्नो निजी सम्पत्तिमा फेर्थे र ऐस आराममा बस्दथे । तर तिनीहरू ‘धर्म’ ,‘स्वतन्त्रता’ र ‘प्रजातन्त्र’ बारे बकवास गरिरहन्थे ।

यस्तो थिचोमिचो र शोषण सदाका लागि सहेर बस्न इन्कार गर्दै, मजदुर तथा किसान र अन्य श्रमजीवी जनता, जागेका छन् र तिनीहरूले आफ्नो मुक्तिका लागि र दुष्ट पुरानो समाजलाई एउटा राम्रो, नयाँ समाजमा फेर्न क्रान्ति गरेका छन्, जुन समाजमा जनता सुखपूर्वक रहनेछन् र जसमा मानिसद्वारा मानिसको शोषणमाथि प्रतिबन्ध लाग्नेछ । क्रान्ति सफल हुनका लागि, मजदुरवर्गद्वारा त्यसको नेतृत्व गरिनुपर्छ, किनभने यो सबभन्दा अघि बढेको, सचेत, दृढ, अनुशासित र सुुुसङ्गठित वर्ग हो र सर्वहारा पार्टी यसको कार्यकारिणी प्रमुख रहेको छ । सोभियत सङ्घ र अन्य समाजवादी मुलुकहरूमा भएको क्रान्तिबाट यो कुराको निर्विवाद रूपले पुष्टि भएको छ ।

क्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक निकै गौरवशाली, तर ज्यादै बोझिलो काम हो, एक जटिल, दीर्घकालीन र कठिन सङ्घर्ष हो । बलियो मानिसले मात्र आफ्नो पिठ्युँमा गाह्रो भारी बोकेर लामो यात्रा गर्न सक्छ । यदि क्रान्तिकारीले आफ्नो गौरवशाली क्रान्तिकारी अभिभारा पूरा गर्ने हो भने उसमा क्रान्तिकारी नैतिकताको खँदिलो जग हुनुपर्छ ।

पुरानो समाजमा जन्मेको र हुर्केको हुनाले, हामी सबै आफ्नो विचार र बानीहरूमा उक्त समाजका चिह्नहरूलाई फरक–फरक मात्रामा आफूसँगै बोकेर हिड्छौं । पुरानो समाजको सबभन्दा खराब र सबभन्दा खतरनाक अवशेष व्यक्तिवाद हो । व्यक्तिवाद क्रान्तिकारी नैतिकताको विपरीत छ । यसको अलिकति पनि बाँकी चिह्न पहिलो अवसरमा नै विकसित हुनेछ, त्यसले क्रान्तिकारी गुणहरूलाई खतम पार्छ र हामीलाई क्रान्तिकारी लक्ष्यका लागि सङ्घर्ष गर्नबाट रोक्छ ।

व्यक्तिवाद एक धोकापूर्ण र हानिकारक चीज हो, यसले चलाखीसाथ मान्छेलाई पछि हट्न प्रेरित गर्छ र सबैलाई के थाहा छ भने अघि बढ्नुभन्दा पछि हट्नु सजिलो छ । त्यसैले यो धेरै खतरनाक छ । पुरानो समाजका खराब अवशेषहरू हटाउन र क्रान्तिकारी गुणहरूको विकास गर्न हामीले कठिन अध्ययन गर्नुपर्छ र लगातार प्रगति गर्नका लागि आफूलाई शिक्षित पार्नु र सुधार्नुपर्छ । नत्र भने हाम्रो अवनति हुनेछ र हामी पछि पर्नेछौं र अन्तमा अगाडि बढिरहेको समाजले हामीलाई अस्वीकार गर्नेछ ।

स्कुलमा गएर अथवा तालिम कोर्समा सामेल भएर मात्र हामी अध्ययन गर्न सक्छौं र हामीले आफूलाई शिक्षित पार्न र सुधार्न सक्नेछौं भन्ने कुरो होइन । हरेक क्रान्तिकारी काममा हामी यसो गर्न सक्छौं र यसो गर्नुपर्छ । भूमिगत क्राान्तिकारी क्रियाकलाप, आम विद्रोह, प्रतिरोध–युद्ध, उत्तरमा समाजवादको वर्तमान निर्माण र राष्ट्रिय पुनः एकीकरणका लागि सङघर्ष धेरै असल पाठशाला हुन्, जहाँ हामीले क्रान्तिकारी गुणहरू प्राप्त गर्न सक्छौं ।

क्रान्तिकारी गुणहरू भएका मानिसहरू न कठिनाइदेखि डराउँछन्, न दुःख–कष्ट वा असफलतादेखि डराउँछन् । तिनीहरू न ढुलमुल गर्छन्, न पछि हट्छन् । पार्टी, क्रान्ति, वर्ग, राष्ट्र र मानवजातिको हितका लागि तिनीहरूको आफ्नो स्वार्थ त्याग गर्न आनाकानी गर्दैनन् । यो क्रान्तिकारी नैतिकताको एक ज्यादै स्पष्ट र उच्च अभिव्यक्ति हो । हाम्रो पार्टीमा त्रान फु, न्योगिया, तु ले हङ फोङ स न्युयेन वान थु, न्युयेन थी, मिन्ह खाई र धेरै अरू कामरेडहरूले जनता र पार्टीका लागि आफ्नो जीवन उत्सर्ग गरेका छन् र यसरी जनहितप्रति पूरा समर्पण र निःस्वार्थपनाका चहकिला दृष्टान्तहरू पेस गरेका छन् ।

अनुकूल अवस्था र सफलता प्राप्त भए पनि क्रान्तिकारी गुण भएका मानिसहरू साधारण, विनम्र र दुःख–कष्ट सामना गर्न तयार रहन्छन् । ‘अरूले भन्दा पहिले कामको चिन्ता गर्नू, अरूले भन्दा पछि आनन्दको विचार गर्नू ।’ हामीले आफ्नो अभिभारा खुब राम्ररी कसरी पूरा गर्न सकिन्छ भन्ने विचार गर्नुपर्छ, तर कसरी ठूलो पुरस्कार पाउन सकिन्छ भन्ने विचार गर्नु हुँदैन । हामीले पहिलेका उपलब्धिहरूबारे घमन्ड गर्नु हुन्न र विशेषाधिकारको दाबी गर्नु अथवा नोकरशाही, घमन्ड र दुस्ट्याँइमा लाग्नु हुन्न । यो पनि क्रान्तिकारी नैतिकताको एक अभिव्यक्ति हो ।

छोटकरीमा, क्रान्तिकारी नैतिकतामा तलका कुराहरू रहेका हुन्छन् : १. पार्टी र क्रान्तिका लागि सङघर्ष गर्नमा आफ्नो जीवन अर्पण गर्नु । यो सबैभन्दा प्रमुख चिह्न हो । २. पार्टीका लागि कठिन काम गर्नु, पार्टीको अनुशासन मान्नु र पार्टीका कार्यदिशा र नीतिहरू कार्वान्वित गर्नु । ३. पार्टी र श्रमजीवी जनताको हितलाई आफ्नो हितभन्दा पहिले र माथि राख्नु, दिलो ज्यानले जनताको सेवा गर्नु । जनता र पार्टीका लागि निःस्वार्थ रूपले सङ्घर्ष गर्नु र हरेक कुरामा दृष्टान्त बन्नु । ४. आफ्नो सैद्धान्तिक स्तर उठाउन, आफ्नो कामरेडहरू सँगसँगै प्रगति गर्नका लागि, माक्र्सवाद–लेनिनवादको अध्ययन गर्न र निरन्तर रूपमा आत्मालोचना र आलोचनाको प्रयोग गर्न प्रयास गर्नु ।

हरेक क्रान्तिकारीले गहिरोसित के बुझ्नुपर्छ भने हाम्रो पार्टी मजदुरवर्गको सबभन्दा अघि बढेको सुसङ्गठित सङ्गठन, मजदूरवर्ग र श्रमजीवी जनताको नेता हो । वर्तमान समयमा हाम्रो मजदुर वर्ग धेरै सङ्ख्यामा नभए पनि दिन प्रतिदिन त्यसको विकास हुँदै छ । भविष्यमा, कृषि सहकारी संस्था जहाँतहाँ गठन हुनेछ, गाउँले इलाकामा व्यापक रूपमा मेसिनहरूको प्रयोग हुनेछ र किसानहरू मजदुर बन्ने छन् । बुद्धिजीवीहरू शारीरिक श्रमसँग राम्ररी परिचित हुनेछन् र मानसिक र शारीरिक मजदुरहरूका बिचको भिन्नता बिस्तारै बिस्तारै मेटिने छ । दिन प्रतिदिन हाम्रो देशको उद्योगको विकास हुनेछ । त्यसैले, मजदुरहरूको सङ्ख्या झन्–झन् बढ्नेछ, तिनीहरूको तागत बढ्नेछ । मजदुरवर्गको भविष्य महान् र गौरवशाली छ । यसले संसार र आफूलाई सुधार्ने छ ।

क्रान्तिकारीले उपरोक्त कुरो स्पष्टसित बुझ्नु पर्छ र मजदुरवर्गको अडानमा दृढतापूर्वक अड्नु पर्छ, जसले गर्दा समाजवाद र साम्यवादका लागि, मजदुरवर्ग र सम्पूर्ण श्रमजीवी जनताका लागि दिलो ज्यानले सङ्घर्ष गर्न सकियोस् । क्रान्तिकारी नैतिकता पार्टी र जनताप्रति निरपेक्ष निष्ठामा रहेको छ ।

हाम्रो पार्टीको नेतृत्वमा हाम्रा जनताले वीरतापूर्वक लडेका छन्, औपनिवेशिक र सामन्ती आधिपत्यलाई फालेका छन् र हाम्रो देशको उत्तरी भागलाई पूरै रूपमा मुक्त गरेका छन् । यो एक ठूलो सफलता थियो । तर, क्रान्तिले अझसम्म पूर्ण विजय पाइसकेको छैन र पार्टीको वर्तमान उद्देश्य राष्ट्रिय पुनः एकीकरणका लागि सङघर्ष गर्नु हो, जसले गर्दा स्वाधीन, प्रजातान्त्रिक र समृद्ध भियतनामको निर्माण गर्नु, मुलुकभर मानिसद्वारा मानिसको शोषणको उन्मूलन गर्न र सबैका लागि सुख र प्रचुरता सहितको एक नयाँ समाजको निर्माण गर्न सकियोस् ।

तर, हाम्रो उद्योग अझसम्म पिछडिएको छ । भाइचारा मुलुकहरू, सर्वप्रथम सोभियत सङ्घ र चीनको निःस्वार्थ मद्दतको फलस्वरूप यसको विकास हुँदै छ । प्रयत्न सफल हुनका लागि हाम्रा मजदुरहरूले एकले अर्कोसँग प्रतिस्पर्धा गर्नुपर्छ र झन्झन् धेरै झन् छिटो, झन् राम्रो र झन् बढी मितव्ययी ढङ्गले उत्पादन गर्न प्रयास गर्नुपर्छ, श्रम–अनुशासन पालना गर्नुपर्छ र आफ्नो उद्योगधन्दाको प्रबन्धमा जाँगरिलो भई भाग लिनुपर्छ । हामीले फजुल खर्च र हिनामिनाको विरोध गर्नुपर्छ र हाम्रा कार्यकर्ताहरू साँच्चिकै मेहनती, मितव्ययी, इमानदार र निष्कपट हुनुपर्छ र उनीहरूले मजदुरहरूसित मिलेर श्रममा भाग लिनुपर्छ ।

हाम्रा किसानहरूलाई जमिन दिइएको छ र उनीहरूको जीवनमा आंशिक सुधार भएको छ । तर, उत्पादन पद्धति अझसम्म तितरबितर र पिछडिएको छ । त्यसैले अझसम्म उपज त्यति बढेको छैन र जीवनका अवस्थाहरूमा अलि मात्र सुधार भएको छ । हाम्रो गाउँले इलाकामा कार्य–विनिमय दल र सहकारी संस्थाको स्थापना गर्ने आन्दोलनलाई व्यापक र दह्रो रूपले अघि बढाइनु पर्छ, जसले गर्दा उत्पादनमा ठोस बृद्धि गर्न सकियोस् र उनीहरूको अवस्थामा सुधार हुन सकोस् । तसर्थ, पार्टीको उद्देश्य प्राप्त गर्नका लागि प्रयास गर्नु, मजदुरवर्ग र श्रमजीवी जनताको इमान्दारीपूर्वक सेवा गर्नु र कहिल्यै ढुलमुल नहुनु क्रान्तिकारी नैतिकता हो ।

पार्टी र श्रमिक युवा सङ्घका धेरै जसो सदस्यहरू र कार्यकर्ताहरूले यसो गरेका छन् । तर, कसै–कसैले गरेका छैनन् । तिनीहरू गलत ढङ्गले के सोच्छन् भने उत्तरमा उपनिवेशवादी र सामन्तहरूबाट मुक्ति पाइसकेको हुनाले, क्रान्ति सफलतापूर्वक पूरा भएको छ । त्यसैले, तिनीहरूले व्यक्तिवादलाई आफूभित्र हुर्कन दिन्छन् । मोजमज्जा र आरामको माग गर्छन् र सङ्गठनले सुम्पेको काम गर्नुको सट्टामा आफ्नै काम गर्न चाहन्छन् । तिनीहरू उच्च पद चाहन्छन् । तर, जिम्मेदारी पन्छाउँछन् । तिनीहरूको लडाकुपना र शक्ति बिस्तारै–बिस्तारै कमजोर हुन जान्छ र त्यस्तै तिनीहरूको क्रान्तिकारी साहस र उच्च गुणहरू पनि कमजोर हुन जान्छन् । उनीहरू के बिर्सन्छन् भने क्रान्तिकारीको मुख्य कसी नै पार्टी र क्रान्तिको निम्ति जीवनभर सङ्घर्ष गर्ने उसको अठोट हो ।

हामीले के बुझनु पर्छ भने अहिलेसम्म हामीले प्राप्त गरेका सफलताहरू हजारौँ लिग लामो बाटोमा पहिला पाइलाहरू मात्र हुन् । हामी अझ अघि बढ्नुपर्छ, क्रान्तिले अरू प्रगति गर्नुपर्छ । नत्र भने हाम्रो अवनति हुनेछ र हामीबाट प्राप्त गरिएका सफलताहरूलाई दरिलो र विकसित पार्न सकिँदैन । समाजवादतर्फ अघि बढ्नका लागि, हामीले लामो र कठिन सङ्घर्ष चलाउनुपर्छ । हाम्रो साथमा क्रान्तिकारीहरू हुनुपर्छ, किनभने क्रान्तिको विरोध गर्ने शत्रुहरू अझसम्म विद्यमान छन् ।

तीन किसिमका शत्रुहरू छन् : १. पुँजीवाद र साम्राज्यवाद असाध्य खतरनाक शत्रु हुन् । २. पिछडिएका बानी र परम्पराहरू पनि ठूला शत्रु हुन् । तिनीहरूले क्रान्तिको प्रगतिमा कपटी ढङ्गले बाधा दिन्छन् । यद्यपि हामीले तिनीहरूलाई दबाउन सक्दैनौ, तर होसियारी तथा लगनका साथ र लामो अवधिमा तिनीहरूलाई सच्याउन खोज्नु पर्छ । ३. तेस्रो शत्रु व्यक्तिवाद हो, निम्न पुँजीवादी मनोवृत्ति हो, जुन हामी प्रत्येकभित्र अझसम्म लुकेर रहेको छ । असफल होस् या सफल, यसले आफ्नो टाउको उठाउने मौका ढुकिरहेको छ । यो माथि उल्लेखित दुई खालका शत्रुहरूको सहयोगी हो ।

तसर्थ, जस्तोसुकै परिस्थितिमा पनि सबै शत्रुहरूका विरुद्ध दृढतापूर्वक सङघर्ष गर्नु, आफ्नो चनाखोपन कायम राख्नु, लड्न तयार रहनु र झुक्न तथा आफ्नो शिर निहुराउन इन्कार गर्नु, क्रान्तिकारी नैतिकता हुन् । यसो गरेर मात्र हामीले शत्रुलाई हराउन सक्छौं र आफ्नो क्रान्तिकारी काम पूरा गर्न सक्छौं । आफ्नो सही नीति र एकीकृत नेतृत्वद्वारा नै हाम्रो पार्टीले मजदुरवर्ग र सम्पूर्ण जनतालाई समाजवादतर्फ नेतृत्व गर्न सक्छ । यस्तो एकीकृत नेतृत्व यसको सबै सदस्यहरूको विचार तथा कार्यमा एकतावाट उत्पन्न हुन्छ ।

यो एकता नभएमा, हामी ‘बाजा एक तरिकाले बज्ने र बाँसुरी अर्को तरिकाले बज्ने वाद्यवादन’ जस्तो हुने छौँ । हाम्रा लागि जनताको नेतृत्व गर्नु र क्रान्ति गर्नु सम्भव हुने छैन । पार्टी सदस्यहरूका कुरा र कामहरूले क्रान्तिमा ठूलो प्रभाव पार्छन्, किनभने तिनीहरूबाट आम जनतामा ठूलो प्रभाव पर्छ । उदाहरणका लागि, हाम्रो पार्टी र सरकारको वर्तमान नीति कार्य–विनिमय दल र सहकारी संस्थाहरूको व्यापक र घनिष्ट रूपमा सङ्गठित पार्नु, कृषि सहकारितालाई अघि बढाउनु हो । तर, पार्टी र श्रमिक युवा सङ्घका कतिपय सदस्यहरू यसमा सामेल हुँदैनन् वा यसमा सामेल भए पनि तिनीहरूको निर्माण र सुदृढीकरणमा सक्रिय रूपले योगदान गर्दैनन् ।

व्यक्तिवादले गर्दा नै ती कामरेडहरूले आफूखुसी गर्ने र पार्टी सङ्गठन र अनुशासनको विपरीत जाने गरेका छन् । जानाजानी होस् वा नजानेर, उनीहरूका कामहरूले पार्टीको प्रतिष्ठालाई नोक्सान पार्छन्, पार्टीको काममा वाधा हाल्छन् र क्रान्तिको अग्रगतिलाई रोक्छन् । पार्टीका सबै नीति र प्रस्तावहरूको उद्देश्य जनताको हितको सेवा गर्नु हो । त्यसैले, पार्टी सदस्यका लागि क्रान्तिकारी नैतिकता जस्तोसुकै अप्ठ्याराहरू भए पनि ती नीति र प्रस्तावहरूलाई दह्रोसित कार्यान्वित गर्नुमा र जनताका लागि उदाहरण पेस गर्नुमा रहेको हुन्छ । हरेक पार्टी सदस्यले जनता र पार्टीप्रति आफ्नो जिम्मेवारीको भाव उँचो पार्नुपर्छ । उसले व्यक्तिवादबाट आफूलाई जोगाउनु पर्छ र त्यसकोे दृढ विरोध गर्नुपर्छ ।

हाम्रो पार्टीले मजदुरवर्ग र सम्पूर्ण श्रमजीवी जनताका साझा हितहरूको प्रतिनिधित्व गर्छ । तर, कुनै समूह र व्यक्तिका निजी हितहरूको प्रतिनिधित्व गर्दैन । यो कुरो सबैलाई थाहा छ । मजदुरवर्गले आफूलाई मुक्त पार्न मात्र होइन, तर थिचोमिचो र शोषणवाट मानव जातिलाई मुक्त पार्न पनि सङ्घर्ष गर्छ । त्यसैले तिनीहरूका हित र जनताका हितहरू एउटै छन् ।

पार्टी सदस्यले पार्टीका नाउँमा, मजदुरवर्ग र श्रमजीवी जनताका हितहरूको प्रतिनिधित्व गर्छ । त्यसैले उसको स्वार्थ पार्टी र वर्गको स्वार्थभन्दा बाहिर होइन, बरु त्यसभित्र पर्दछ । पार्टी र वर्गका लागि प्राप्त हुने सफलता र विजयको अर्थ लडाकुहरूका लागि सफलता र विजय हो । पार्टी र वर्गवाट छुट्टै रहेर कुनै पनि व्यक्तिले जतिसुकै प्रभावशाली भए पनि, केही चीज प्राप्त गर्न सक्दैन । पार्टी सदस्यका लागि, क्रान्तिकारी नैतिकता सारा परिस्थितिमा पार्टीको हितलाई सबभन्दा माथि राख्नुमा रहेको छ । पार्टीको हित र व्यक्तिको हित बाझिन गएमा पार्टी–हितको पक्षमा व्यक्तिको हितलाई एकदमै त्याग्नुपर्छ ।

आफूलाई व्यक्तिवादवाट मुक्त नगरेको हुनाले नै कुनै–कुनै पार्टी सदस्यहरू अझ पनि पार्टीप्रति आफ्ना सेवाहरूको घमन्ड गर्छन् र सो सेवाका लागि पार्टीको कृतज्ञताको दाबी गर्छन् । तिनीहरू कृपा, सम्मान, पद र विशेषाधिकार पाउन चाहन्छन् । आफ्नो इच्छा पूरा नभएमा, तिनीहरूको ‘भविष्य’ छैन र तिनीहरूलाई ‘बलि चढाइएको’ छ भन्ने ठान्छन् र पार्टीबाट बिस्तारै बिस्तारै हटेर जान्छन् । अझ खराब त के छ भने तिनीहरू यसका नीतिहरू र अनुशासनलाई भित्रैबाट ध्वस्त पार्छन् । भूमिगत सङ्घर्ष र प्रतिरोध युद्धका अवधिमा धेरै कार्यकर्ता र जोताहाहरूले वीरतापूर्वक आफ्नो जीवनको आहुति दिएका छन् । धेरै श्रमवीर र सर्वोत्तम मजदुरहरूले उत्पादन बढाउन सकभर गरेका छन् । ती कामरेडहरूले कहिल्यै पद र सम्मान मागेका छैनन्, पार्टीबाट धन्यवादको माग गरेका छन् ।

हाम्रो पार्टीको जन–चरित्र छ र यसका लाखौं सदस्यहरू छन् । मुलुकको परिस्थितिले गर्दा अधिकांश पार्टीका सदस्यहरू निम्न–पुँजीपतिवाट आएका छन् । यसमा कुनै आश्चर्यको कुरो छैन । सुरुमा, पुँजीवादी विचारधाराको प्रभाव परेर, केही पार्टी सदस्यहरूको अडानमा दह्रोपनाको अभाव हुन सक्छ, उनीहरूको दृष्टिकोण भ्रमात्मक हुन र उनीहरूको सोचाइ बिलकूल गलत हुन सक्छ । तर, तिनीहरू क्रान्ति र प्रतिरोध–युद्धमा खारिएका छन् भन्ने तथ्यले गर्दा हाम्रो पार्टीका सदस्यहरू मुख्य रूपमा असल लडाकु हुन् र पार्टी र क्रान्तिप्रति इमान्दार छन् ।

ती कामरेडहरूलाई के थाहा छ भने गल्ती गर्ने पार्टी सदस्यहरूले जनतालाई गलत बाटोमा लैजाने छन् । त्यसैले तिनीहरू समयमै आफ्ना गल्तीहरूलाई सच्याउन तयार हुन्छन् र स–साना गल्तीहरूलाई ठूलो गल्तीमा बढ्न दिँदैनन् । तिनीहरूले आलोचना र आत्मालोचनालाई इमान्दारीपूर्वक व्यवहारमा प्रयोग गर्छन् । यो क्रान्तिकारी नैतिकताको अनुरूप छ । धेरै वर्षको आफ्नो भूमिगत क्रियाकलापको बेलामा, हाम्रो पार्टीले उपनिवेशवादीहरूको कठोर दमन खप्नु प¥यो र त्यसैले असङ्ख्य कठिनाइ र खतरा भोग्नुपर्यो । तर, पनि पार्टी दिन–प्रतिदिन विकसित र बलियो हुँदै गयो अनि त्यसले क्रान्ति र प्रतिरोध–युद्धलाई विजयसम्म बढायो । यो आलोचना र आत्मालोचनाको तिखो हतियारको प्रभावकारी प्रयोगले गर्दा भएको हो ।

तर अझसम्म केही पार्टी सदस्यहरू यस्ता छन्, जो व्यक्तिवादलाई हटाउन असमर्थ भएकाले हठी र घमन्डी छन्, र आफ्नो खुबीको तारिफ गरिरहन्छन् । उनीहरू अरूको आलोचना गर्छन् र अरूले आफ्नो आलोचना गरेको मन पराउँदैनन् । उनीहरू आत्मलोचनालाई हटाउँछन् र बिना इमान्दारी र बिना गम्भीरताले त्यसलाई व्यवहारमा प्रयोग गर्छन् । तिनीहरू आफ्नो मुख रातो होला र आफ्नो बेइज्जत होला भनेर डराउँछन् । तिनीहरूले जनताको रायप्रति ध्यान दिँदैनन् र गैर–पार्टी कार्यकर्ताहरूलाई हेला गर्छन् । तिनीहरू के बुझ्दैनन् भने आफ्नो काममा कुनै गल्ती नै नगर्नु गाह्रो छ । हामीहरू सम्भवतः गल्तीहरूदेखि डराउँदैनौं, बरु त्यसलाई सच्याउन, हामीले जनताद्वारा गरिने आलोचनामा ध्यान दिनुपर्छ र इमान्दारीपूर्वक आत्मालोचना गर्नुपर्छ । नत्र भने हामी पछि पर्नेछौं र हाम्रो अवनति हुनेछ, जसले गर्दा जनताले हामीलाई पन्छाउने छन् । यो व्यक्तिवादको अनिवार्य परिणाम हो ।

मजदुरवर्ग र श्रमजीवी जनताका शक्तिहरू विशाल र असीमित छन् । तर, यदि उनीहरूले विजय प्राप्त गर्ने हो भने पार्टीले उनीहरूको नेतृत्व गर्नुपर्छ । त्यसका साथै यदि क्रान्तिमा विजय प्राप्त गर्ने हो भने पार्टी आम जनताको नजिक रहनुपर्छ र त्यसले उनीहरूको दक्षतापूर्वक सङ्गठन र नेतृत्व गर्नुपर्छ । जनतासित एक ढिक्का भएर मिल्नुमा, उनीहरूको विश्वास प्राप्त गर्नुमा र उनीहरूको रायप्रति ध्यान दिनुमा क्रान्तिकारी नैतिकता रहेको छ । आफ्ना कुरा र कामहरूद्वारा पार्टी र श्रमिक युवा सङ्घका सदस्य र कार्यकर्ताहरूले जनताको विश्वास, सम्मान र माया प्राप्त गर्छन्, पार्टी वरिपरि उनीहरूलाई घनिष्ट रूपले एकताबद्ध पार्छन् र उनीहरूलाई सङ्गठित, शिक्षित र परिचालन गर्छन्, जसले गर्दा उनीहरूले पार्टीका नीति र प्रस्तावहरूलाई उत्साहपूर्वक कार्यान्वित गर्नेछन् । हामीले क्राान्ति र प्रतिरोध–युद्धका बेलामा त्यसै गरेका छौँ ।

तर अहिले व्यक्तिवादले हाम्रा कतिपय कामरेडहरूलाई सिकार बनाइरहेको छ । आफू हरेक कुरामा चलाख रहेको दाबी गरेर तिनीहरू जनताबाट अलग हुन्छन्, जनतावाट सिक्न इन्कार गर्छन् र जनताको शिक्षक मात्र बन्न चाहन्छन् । तिनीहरू जनताबीच सङ्गठन, प्रचार र शिक्षाको काममा लाग्न अनिच्छुक छन् । तिनीहरू नोकरशाही र हुकुमवादबाट आक्रान्त छन् । फलस्वरूप जनताले तिनीहरूलाई न विश्वास गर्छन्, न सम्मान गर्छन् र माया त बिलकुलै गर्दैनन् । अन्तमा तिनीहरूले केही पनि गर्न सक्दैनन् ।

हाम्रो देशको उत्तरी भाग समाजवादतर्फ बढिरहेको छ । यो लाखौँ श्रमजीवी जनताको जरुरी आकाङ्क्षा हो । यो हाम्रो पार्टीको नेतृत्व अन्तर्गत श्रमजीवी जनताको सामूहिक काम हो । समाजवादको निर्माणका लागि व्यक्तिवाद ठूलो वाधक हो । त्यसैले, व्यक्तिवादको उन्मूलनका लागि चलाइने सङ्घर्षको सफलताबाट समाजवादको सफलतालाई अलग पार्न सकिँदैन । व्यक्तिवादका विरुद्ध सङ्घर्ष गर्नुको अर्थ ‘व्यक्तिको हितमाथि कुल्चनु’ होइन । हरेक व्यक्तिका आफ्नै स्वभाव, आफ्नै खुसी, आफ्नो निजी जीवन र आफ्नो परिवारको जीवन हुन्छ । व्यक्तिको हित सामूहिक हितको विपरीत नभएमा त्यसमा कुनै नोक्सानी छैन । तर, के कुरा बुझ्नुपर्छ भने समाजवादी व्यवस्था अन्तर्गत मात्र प्रत्येक व्यक्तिले आफ्नो निजी जीवनमा सुधार ल्याउन र आफनो व्यक्तित्व र आफना बलिया गुणहरूको विकास गर्न सक्छ ।

मानिसप्रति सम्मान देखाउनमा, उसको न्यायोचित व्यक्तिगत स्वार्थप्रति उचित ध्यान दिनमा र सो स्वार्थ पूतिलाई सुनिश्चित पार्नमा कुनै पनि व्यवस्थामा समाजवाद र साम्यवादको बराबरी छैन । जुन समाजमा शोषक वर्गले शासन चलाएको हुन्छ, त्यस्तो समाजमा सो वर्गका केही मानिसहरूको व्यक्तिगत स्वार्थ मात्र पूरा हुन्छ, तर श्रमजीवी जनताको हितलाई पैतलामुनि कुल्चिन्छ । तर, समाजवादी र साम्यवादी व्यवस्थामा, जसमा श्रमजीवी जनता मालिक हुन्छन्, हरेक मानिस समूहको एउटा अंश रहन्छ, उसले समूहमा निश्चित भूमिका खेल्छ र समाजलाई आफूले सकेको देन दिन्छ । त्यसैले व्यक्तिको हित समूहको हितभित्र रहन्छ र त्यसको अंशका रूपमा रहन्छ । समूहको स्वार्थ पूरा भएपछि मात्र व्यक्तिको स्वार्थ पूरा गर्न सकिन्छ ।

व्यक्तिको हित समाजको हितसित घनिष्ट रूपले गाँसिएको हुन्छ । ती दुईबीच कुनै अन्तर्विरोध भएमा, क्रान्तिकारी नैतिकताले के अपेक्षा गर्छ भने व्यक्तिको हितले सामूहिक हित सामु समर्पण गरोस् । क्रान्तिको निरन्तर प्रगति हुन्छ । पार्टीले पनि निरन्तर प्रगति गर्छ र क्रान्तिकारीले पनि निरन्तर प्रगति गर्नुपर्छ र गरिरहनु पर्छ । क्रान्तिकारी आन्दोलनमा लाखौँ जनता संलग्न हुन्छन् । क्रान्तिकारी काममा हजारौँ ज्यादै जटिल र कठिन कामहरू समावेश छन् । सारा जटिल परिस्थितिहरूको मूल्याङ्कन गर्न, अन्तर्विरोधलाई स्पष्टसित देख्न विभिन्न समस्याहरू ठीकसित समाधान गर्न सक्षम हुनका लागि हामीले माक्र्सवाद–लेनिनवादको अध्ययन गर्न प्रयास गर्नुपर्छ । यसो गरेर मात्र हामीले आफ्नो क्रान्तिकारी नैतिकतालाई दरिलो पार्न सक्छौं, दह्रोसित आफ्नो अडानलाई कायम राख्न सक्छौं, आफ्नो सैद्धान्तिक र राजनीतिक स्तर उठाउन सक्छौं र पार्टीद्वारा आफूलाई सुम्पिएका कामहरू पूरा गर्न सक्छौं ।

माक्र्सवाद–लेनिनवादको अध्ययन गर्नुको अर्थ त्यस भावनालाई सिक्नु हो, जुन भावनाले मानिसले सबै चीजहरूसित र आफूसित व्यवहार गर्नु पर्छ । यसको अर्थ हो हाम्रो देशको व्यावहारिक अवस्थामा रचनात्मक ढङ्गले लागू गर्नका लागि सर्वव्यापी माक्र्सवादी—लेनिनवादी सत्यहरूको अध्ययन गर्नु । हामीले कामलाई ध्यानमा राखेर अध्ययन गर्नुपर्छ । सिद्धान्तले व्यवहारसित हातमा हात मिलाएर बढ्नुपर्छ ।

तर केही कमरेडहरू माक्र्सवाद—लेनिनवाद सम्बन्धी किताबहरू कण्ठस्थ मात्र पार्छन् । तिनीहरू के सोच्छन् भने माक्र्सवाद—लेनिनवादबारे अरूहरूले भन्दा राम्ररी उनीहरूले बुझेका छन् । तर, जब व्यावहारिक समस्या सामना गर्नुपर्ने हुन्छ, तिनीहरू या त यान्त्रिक ढङ्गले काम गर्छन् या अन्योलमा पर्छन् र तिनीहरूका काम र कुराहरू मिल्दैनन् । तिनीहरू माक्र्सवादी–लेनिनवादी भावना प्राप्त गर्न खोज्दैनन् । तिनीहरू आफनो ज्ञानको प्रदर्शन मात्र गर्न चाहन्छन्, तर क्रान्तिकारी काममा त्यसलाई लागू गर्न चाँहदैनन् । यो पनि व्यक्तिवाद हो ।

व्यक्तिवादले सयौँ खतरनाक रोगहरू पैदा गर्छ । नोकरशाही, हुकुमवाद, सङ्कीर्णतावाद, मनोगतता, भ्रष्टाचार, फजुल खर्च । त्यसले आफ्ना सिकारहरूलाई कसेर बाँध्छ र तिनीहरूको आँखामा पट्टी बाँधिदिन्छ र तिनीहरूको प्रत्येक क्रियाकलाप वर्ग तथा जनताको हितप्रति चासोद्वारा निर्देशित नभईकन सम्मान र पद प्राप्त गर्ने तिनीहरूको इच्छाद्वारा निर्देशित रहन्छ । व्यक्तिवाद समाजवादको कठोर शत्रु हो । क्रान्तिकारीले यसलाई खतम पार्नैपर्छ ।

अहिले हाम्रो पार्टी र जनताको काम हो, उत्पादन बढाउन मितव्ययितालाई व्यवहारमा प्रयोग गर्न कोसिस गर्नु जसले गर्दा उत्तरको निर्माण गर्न सकियोस्, बिस्तारै बिस्तारै त्यसलाई समाजवादतर्फ लैजान सकियोस् र देशको पुनःएकीकरणका लागि त्यसलाई बलियो आधारमा फेर्न सकियोस् । यो ज्यादै गौरवशाली काम हो । पार्टी र श्रमिक युवा सङ्घका सबै सदस्यहरूले पार्टीभित्र र बाहिरका सबै कार्यकर्ताहरूले पार्टी र जनताको सेवामा आफ्नो जीवन अर्पण गर्न दृढ सङ्कल्प गरून् । यो क्रान्तिकारी उच्च गुण हो, यो क्रान्तिकारी नैतिकता हो, पार्टी र वर्ग भावना हो र यसले पार्टी, वर्ग र जनताका लागि विजयलाई सुनिश्चित पार्छ । 

क्रान्तिकारी नैतिकता आकाशबाट त्यसै झर्दैन । दिनदिनै सङ्घर्ष र प्रयत्न गरेर नै यो विकसित र दरिलो बन्छ । निलो पत्थरझैँ, जति जति पालिस लगायो उति उति यो चम्किन्छ । सुन जस्तै, जति पगाल्यो उति यो सुन शुद्ध हुन्छ । आफ्नो क्रान्तिकारी नैतिकताको विकास गर्नुभन्दा सुख र गौरवको ठूलो स्रोत अरू के हुन सक्छ, जसले गर्दा समाजवादको निर्माण र मानव जातिको मुक्तिका लागि उचित योगदान गर्न सकियोस् । म दिलैदेखि के आशा गर्छु भने पार्टी र श्रमिक युवा सङ्घका सबै सदस्यहरू र पार्टीभित्र र बाहिरका सबै कार्यकर्ताहरूले कठिन प्रयत्न र प्रगति गर्नेछन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार




स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News