नेपाली उत्पादन बढाउने र आयात कम गर्ने अभियानमा प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक वस्तुमात्र पैठारी गर्न र मुलुक आत्मनिर्भर भएका वस्तुको आयातलाई निरुत्साहित गर्न सुझाव दिएका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङद्वारा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालीमा अनावश्यक बानी लागेका कारण जङ्क फुड र नक्कली पेयको पैठारी बढेर खर्बौ रुपैयाँ बिदेसिएको बताए ।‘लिची र आँपको बोक्रा पनि देखेको हुँदैन, लिचीे र कुनै आँपको जुस रे’, यसअघि भनेकै कुरा ओलीले दोहार्याएे, ‘खायो भने लिची र आँपको जस्तै स्वाद आउँछ, आहा कति मिठो भनिन्छ । तर वास्तवमा त्यो केमिकलको नक्कली स्वाद हो ।’ 
उनले यस्ता वस्तुको आयात र उपभोगले खर्बौं रुपैयाँ बाहिर जाने र उपभोक्ताको स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पर्ने उल्लेख गरे ।ओलीले नेपालमै फलफूलका जुसका उद्योग खोलेर आत्मनिर्भर हुनुपर्ने र बाहिरबाट आउने नक्कली जुसको उपभोग कम गर्नुपर्ने बताए।‘खाजाका लागि मकै भटमास भुटेर खाए भइगयो नि, किन खानुपर्यो कर्न फ्लेक्स ?’, ओलीको प्रश्न थियो, ‘चिउरा नै खाने भए आयात गरेको मकैको चिउरा किन खानु ? नेपालमै बनेको धानको चिउरा खाए अझ तागत आउँछ, मकैभटमासमा त झन धेरै तागत हुन्छ ।’
उनले कोलकाताबाट ल्याइएका फर्मलिन हालेका माछा खाएर मानिसहरूको प्रजनन शक्ति ह्रास भइरहेको पनि दोहोर्याए।प्रधानमन्त्रीले भने, ‘बुढापाकाले खाए त ठिकै होला, भर्खरका युवायुवतीले खाए भने बरबाद । नियमित खानेले परिवार नियोजन नै गर्नु नपर्ने रहेछ । दश वर्षमा प्रजनन शक्ति शून्य ।’ ओलीले उत्पादकत्व बढाउने, रोजगारी सृजना गर्ने र आत्मनिर्भरता बढाउने उद्योग खोल्न आग्रह गरे ।
 
‘बिहानै उठेर जुन सामान पहिले छोए पनि विदेशी हुन्छ’, उनले सुनाए, ‘दाह्री काट्ने ब्लेड र क्रिम अर्कै देशको, दाँत माझ्न लाग्यो मन्जन र बुरुस पनि अर्कै राष्ट्रको । लुगा पनि उतैको ।  युनिलिभर, कोलगेट, पेप्सोडेन्ट, पतञ्जली के–के हो के–के ? बिहानै उठेर आफ्नै देशमा बनेको बास्नादार मन्जनले दाँत माझ्न पाए कति मजा हुन्थ्यो होला !’
 
मुलुकमा उत्पादित कपास कुहिएर जाने गरेको र त्यसबाट धागो बनाउन नसकिएको उनको कथन थियो । उनले कपास, धागो र कपडा यहीँ तयार गरेर गार्मेन्ट उद्योग पनि स्वदेशमै खोलिनुपर्ने राय प्रकट गरे ।'व्यापार घाटा प्रशस्त छ, अब उद्योगतिर नगई हुँदैन’, प्रधानमन्त्रीले कार्यक्रममा उपस्थित व्यवसायीलाई उद्योग खोल्न के सुविधा चाहियो भन्ने प्रश्न गरे ।उनले सोधे, ‘कस्तो नियम र कानुन चाहियो ? कुन ऐन वा कानुनमा संशोधन गर्नुपर्यो ? मातहतलाई कस्तो निर्देशन दिनुपर्यो ? कुन मुलुकको सरकार वा त्यहाँका नेतासित कुरा गर्नुपर्यो ? तपाईं उद्योग खोल्न चाहनुहुन्छ भने आउनूस् म सबै कुरा गर्न तयार छु ।’
 
‘यति सहज स्थिति पहिले थिएन, अहिले त म चिन, भारत र अन्य छिमेकी मुलुकका प्रधानमन्त्री, मन्त्री र नेतासित सजिलै र सिधै कुरा गर्न सक्छु’, प्रमको भनाइ थियो, ‘यस्तो अवसरको फाइदा उठाउनूस् । आउनूस्, कुन उद्योग खोल्न चाहनुहुन्छ, म सहयोग गर्न तयार छु ।’चिनीका पैठारीकर्तालाई मार नपर्ने गरी भन्सार महसुल बढाइएको प्रधानमन्त्रीको दाबी थियो । स्वदेशका चिनी उद्योग र उखुखेतीको संरक्षण गर्नुपर्ने हुँदा चिनीको महसुल बढाउनु आवश्यक परेको उनको भनाइ थियो ।
 
‘हामीले हिसाब गरेरै चिनीमा महसुल बढाएका हौँ, यसबाट आयातकर्तालाई घाटा छैन’, उनको कथन थियो, ‘अँ पहिलेजस्तो धेरै नाफा छैन होला ।अलिअलि मार्जिन घट्यो होला । तर घाटा पनि छैन ।’प्रधानमन्त्रीले उद्योग बन्द हुँदा त्यसको धनीलाई मात्र मार नपर्ने जिकिर गर्दै त्यहाँका कामदार र कर्मचारी सबै उद्योगसित जोडिएका हुन्छन् भने ।‘कानुनले बढाउन नदिएर नबढाएको’, उनले भने, ‘नभए चिनीको भन्सार महसुल अझै बढ्थ्यो । उद्योग र उखु खेती दुबै बन्द हुँदा ठूलो असर पथ्र्यो । त्यसैले महसुल बढाउनु पर्यो ।’  
 
ओलीले सुनाए, ‘पाकिस्तानबाट सहुलियतमा चिनीको पैठारी गरिएको रहेछ । मैले पाकिस्तानका प्रधानमन्त्रीलाई तपाईंको चिनी हाम्रो मुलुकमा प्रशस्त भित्रिएको छ नि भनेर सोधेँ । उनले आफ्नो मुलुकमा उखु र चिनीको उत्पादन प्रशस्त भएकाले निर्यातमा सहुलियत दिएको बताए । अनि उनले अर्को कुरा के थपे भने, तपाईंको भन्दा हाम्रो मुलुकका जनताले चिनीमा महँगोमा किनेर खान्छन् । चिनीको खुद्रा मूल्य तपाईंको मुलुकमा भन्दा डेढ गुणा बढी हाम्रो मुलुकमा छ भनेर उनले उत्तर दिए । खासमा निर्यातमा मात्र सहुलियत दिइएको रहेछ ।’
 
प्रधानमन्त्री ओलीले पहिलेका सरकारले गरेजस्तो उदारीकरण र निजीकरणका नाममा बेच्ने र खाने अर्थनीति अब चल्दैन भन्ने विचार व्यक्त गरे । ‘यसअघि उद्योगहरू विक्री गर्ने र खाने काम भयो त्यसैले विदेशीहरू सहयोग गर्न हच्किएका छन्’, उनले थपे, ‘उद्योग खोल्न सहयोग गर्नूस् भनेर आग्रह गर्दा बाँसबारी छाला जुत्ता कारखाना र भृकुटी कागजको नाम लिन्छन् ।’उनले ठूला आयोजनामा मात्र वैदेशिक लगानी आकर्षित गरिने जानकारी दिए ।ओलीले सरकारी कर्मचारीसित सेटिङमा नलाग्न व्यवसायीलाई चेतावनी दिए ।
 
‘सेटिङ र कमिसन अब चल्दैन, छानिछानी कर्मचारी लैजाने काम पनि अब बन्द हुन्छ’, उनको आग्रह थियो, ‘फलानै कर्मचारी चाहिन्छ भन्ने दिन अब गए । तपाईंहरू पनि अब सेटिङतिर नलाग्नूस । सेटिङमा नलागेपछि अन्डरह्यान्ड छुट्टै रकम दिनुपर्दैन । अनि छुट्टै बही खाता पनि राख्नुपर्दैन ।’यसअघि मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङका अध्यक्ष क्रमशः पवन शारडा र मुकेश उपाध्यायले व्यावसायिक क्षेत्रका समस्या प्रस्तुत गरेका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs