September 25, 2017, 7:10 pm      |      २०७४ असोज ०९ सोमबार
NEWS HEADLINES

नयाँ शक्ति बन्न कसैले रोक्न सक्दैन

एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा. बाबुराम भट्टराई यतिबेला राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा छन्, आफ्नो आलेख ‘खाँचो नयाँ शक्तिको’ प्रकाशित भएपछि । उनको यस नयाँ विचारलाई लिएर अहिले विभिन्न प्रकारका टिप्पणी र बहस चलिरहेका छन् । यसै विषयमा केन्द्रित रहेर लिएको अन्तरवार्ताको सम्पादीत अंशः

 

तपाईंले लेख ‘खाँचो नयाँ शक्तिको’ प्रकाशित भएपछि राष्ट्रिय राजनीतिमा ठूलो तरङ्ग पैदा भएको छ । के तपाईंले यस लेख मार्फत् पूरानो शक्तिको औचित्यमाथि नै प्रश्न उठाउन खोज्नुभएको हो ?

 

राजनीतिक विचार, शक्ति र पार्टी समाजको आवश्यकता अनुसार जन्मन्छन् । र, समाज विकासले एक चरण पूरा गरेर अर्को चरणमा प्रवेश गरिसकेपछि नयाँ विचार र नयाँ राजनीतिक शक्तिको पनि उदय हुन आवश्यक हुन्छ । यसरी हेर्दा नेपालमा सन् १९५० देखि शुरु भएको आन्दोलन र पार्टी निर्माणको प्रक्रिया, अहिले २०१४ सम्म आइपुग्दा हामीले एकात्मक राज्य प्रणाली, निरंकुशता आदिको अन्त्य गरेर हामी पूँजीवादी युगतिर प्रवेश गरेका छौं । जसको अर्थ हामी समान्तवादी युगको अन्त्य गरेर पूँजीवादी युगमा प्रवेश गरेका छौं । त्यसैले अहिलेको समयमा पूँजीवादी युगमा टेकेर समाजवादतिर जाने नयाँ विचार र नयाँ शक्तिको आवश्यकता छ भन्ने मेरो भनाई हो । हाम्रो पार्टीले हेटौंडा महाधिवेशनदेखि नै त्यो दिशातिर कदम चालीसकेको छ । त्यसैलाई नै मैले अझ मुर्त र प्रष्ट भाषामा मात्र भनेको हुँ ।

 

यसमा तपाईंको आशय भनेको एमाओवादीलाई रुपान्तरण गर्ने हो कि नयाँ शक्ति निर्माण गर्ने भन्ने हो ?

 

नयाँ शक्तिको निर्माण ऐतिहासिक आवश्यकता हो, यसलाई कसैले पनि टार्न सक्दैन । त्यो कसरी हुन्छ भन्दा मैले प्रष्ट रुपमा त्यहाँ तीनवटा विकल्पको कुरा गरेको छु । पहिलो विकल्प भनेको अहिले भएकै पार्टीलाई रुपान्तरण गरेर नयाँ शक्ति बन्ने, जहाँ एकीकृत नेकपा (माओवादी) नै रुपान्तरित भएर त्यो दिशामा अघि बढोस् भन्ने मेरो चाहना हुन्छ । दोस्रो विकल्प भनेको विभिन्न पार्टीमा रहेका यही आवश्यकता बोध गर्ने शक्तिहरु मिलेर नयाँ शक्ति बन्न सक्छ । तेस्रो विकल्प भनेको यी दुई विकल्प काम नगरेको खण्डमा विल्कुलै नयाँ शक्ति बन्न सक्छ । तर, मेरो व्यक्ति चाहना भनेको पहिलो विकल्प नै हो ।

 

 

तपाईंको यो विचारलाई त गैर–माक्र्सवादी दृष्टिकोण भनेर पनि टिप्पणी गरिएको छ । यसमा के छ तपाईंको भनाईं ?

 

यहाँ के कुरा बुझ्नु जरुरी छ भने मैले दुईवटा विचारलाई मिलाएर नयाँ विचार बनाउनुपर्छ भनेर भनेको छैन, नयाँ विचारको विकास गर्नुपर्छ भनेर भनेको छु । जसरी लर्भाबाट झुसुले किरो हुँदै पुतली बन्छ, त्यसरी नै उदारवादबाट समाजवाद, समाजवादबाट विकसित समाजवाद भएर अघि बढ्छ । तर यसमा पूराना शक्तिका केही अंश रहेका भने हुन्छन् । त्यसैले अब बन्ने शक्ति मूलतः समाजवादमा टेकेरनै बन्छ । तर, त्यसमा उदारवादका सकारात्मक पक्ष पनि हुन्छन्, जसको मिश्रणबाट समाजवादको विकसित मोडल बन्नुपर्छ भन्ने मेरो धारणा हो । जहाँसम्म यो माक्र्सवाद सम्वत भयो कि भएन भन्ने कुरा छ, यसलाई त्यसरी हेर्ने होइन । माक्र्सवाद भनेको एउटा मान्छेले आविष्कार गरेको कुरा हो । र, यहाँ मान्छेपिच्छे माक्र्सवादको फरक बुझाई फरक छ । त्यसैले कसैले यस्तो प्रकारले कुनै पनि विचारको मूल्यांकन गर्न मिल्दैन । माक्र्सवाद भनेको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी पद्दति हो । दुनियाँ र जगतलाई बुझ्ने र बदल्ने पद्दति र प्रणाली हो । त्यो आफैमा कुनै एउटा बनिबनाऊ वस्तु होइन । त्यस बाहेक अन्य कुराहरु जस्तै राज्य, पार्टी, आदि कुराहरु भनेका पछि विकसित भएका हुन् । त्यसैले माक्र्सवादी पद्दतिलाई अंगालेरनै मेरा विचारहरु अघि सारिएका हुन् ।

 

 

तपाईंको नयाँ विचारलाई निम्न वर्गको उत्थान गर्न छाडेर मध्यम वर्गको उत्थानको लागि अघि सारिएको भन्ने पनि टिप्पणी आएको छ नी ?

 

बहस र छलफलमा जसले पनि आफ्नो विचार राख्न पाउँछन्, त्यसमा मेरो कुनै आपत्ति छैन । नेपाली समाजको बनौटमा अधिकांश निम्न र उत्पीडित जाति, वर्ग, लिंग, समूदायकै बाहुल्यता छ । तिनीहरुको हितलाई ध्यानमा नराखी बनाइने नयाँ शक्ति अग्रगामी शक्ति बन्दैन । यद्यपि यो पनि सत्य हो कि हाम्रो समाज वहुवर्गीय समाज हो, यहाँ निम्न र उत्पीडित वर्गको साथै मध्यम वर्गहरु पनि छन् । उनीहरुको हितको लागि पनि हामीले ध्यान दिनुपर्छ । हामी पूँजीवादी क्रान्तिको विकासको चरणमा छौं । त्यसैले समाजको यो एउटा ठूलो तप्कालाई हामीले साथमा लिन सकेनौं भने हामीले समाजको आवश्यकता पूरा गर्न सक्दैनौं । त्यही भएर हामीले उत्पीडित वर्गको साथै ठूलो रुपमा विकास हुँदै गएको मध्यम वर्गलाई पनि समेट्नुपर्छ र उप्पलो वर्गको पनि एक तप्कालाई साथमा लिएर अघि जानुपर्छ अनि मात्र नयाँ शक्तिको निर्माण हुन्छ भन्ने मेरो धारणा हो ।

 

 

उदारवाद र समाजवादलाई मिलान गर्दा अहिले चीनमा चलिआएको प्रणाली जस्तै परिकल्पना गरिएको हो ?

 

हामीले पछिल्ला विचारहरुको जगमा टकेर नयाँ विचारको निर्माण गर्नुपर्छ । अहिले संसारमा दुईवटा विचार प्रचलनमा छन्, एउटा व्यक्तिलाई प्रधान मान्ने र अर्को समाजलाई प्रधान मान्ने विचार छन् । यी दुईवटै विचारको प्रयोग आफ्नै ढंगले भइराखेको छ । उदारवादी देशमा पूँजीवादी विचारको प्रयोग भइराखेको छ भने समाजवादी देशमा समाजवादी विचार प्रयोग भइरहेको छ । मेरो विचारमा प्रयोगको हिसाबमा सबैभन्दा उच्चतम विचार भनेको समाजवादी विचार नै हो, त्यसबाट पछि हट्ने कुरा आउँदैन । तर, समाजवादलाई विकास गर्नका निम्ति उदारवादमा भएका सकारात्मक पक्षहरुलाई समेटेर मात्र गर्न सकिन्छ भन्ने दार्शनिक रुपमा पनि एउटा भनाई हो । हिजो निषेधको निषेध भन्ने एंग्लसको दार्शनिक अवधारणा थियो, त्यसलाई माओले सच्याएर इम्युनिटी, संघर्ष र रुपान्तरण हुन्छ भनेर भन्नुभयो । त्यसैले सकार र नकारलाई हामीले मूल्यांकन गरेर, नकारलाई परित्याग गरी सकारलाई आत्मसात गरेर नयाँ विचारको विकास हुन्छ भनेर उदारवादका सकारलाई आत्मसाथ गर्दै समाजवादलाई समृद्ध गर्ने कुरा दार्शनिक रुपमा सही हुन्छ । व्यवहारिक रुपमा हाम्रो समाज अहिले पूँजीवादको संक्रमणमा रहेको हुँदा हामीले समाजवादी क्रान्तिको जुन कुरा गरिरहेका छौं, त्यस क्रममा पूँजीवादका अंशहरुको विकास नगरी समाजवादको आधार तयार हुँदैन । त्यसैले हामीले पूँजीवादी उत्पादक शक्ति सम्बन्धको विकासमा पनि ध्यान दिनुपर्छ भन्ने पनि मेरो भनाई छ । त्यसैले तत्कालका निम्ति पूँजीवादका आर्थिक र सामाजिक संरचनाहरुको विकास नगरी समाजवादी क्रान्ति सम्भव हुँदैन भन्ने मेरो मान्यता हो । त्यसअर्थमा पछिल्लो समय चीनमा जे प्रयोग भइराखेको छ, त्यसबाट सकारात्मक कुरा पनि लिनुपर्छ भन्ने मलाई लाग्छ । हिजोका माओलाई मात्र पढेर अहिले पछिल्लो समय चीनमा भएका काम प्रति नाक खुम्च्याउने जुन काम हामीले ग¥यौं, त्यति मात्रले अब पुग्दैन । पछिल्लो चोटी चीनमा भएका अनुभवहरु, त्यस्तै भियतनाम, क्युुवा आदिमा भएका अनुभवहरुबाट पनि हामीले पाठ सिकेर अघि बढ्नुपर्छ भन्ने मान्यता हो ।

 

तपाईंले पार्टी रुपान्तरण नभए नयाँ शक्ति जन्मन्छ भनेर स्वयं पार्टी अध्यक्ष प्रचण्डलाई पनि सीधा–सीधा भन्नुभयो भन्ने कुरा सञ्चारमाध्यममा आए । के त्यो सत्य हो ?

 

हो, यो कुरा मैले पार्टी अध्यक्षलाई मात्र नभएर पार्टीभित्र नै धेरै पहिलेदेखि चलाउँदै आएको हुँ । हाम्रो पार्टीले ऐतिहासिक कार्यभर पूरा गर्न रुपान्तरित भएर अघि बढ्नुपर्छ, आन्दोलनबाट विकास भएको हाम्रो सामूहिक नेतृत्वले नै यसको पहल गर्नुपर्छ । यदी कमरेड प्रचण्ड, म लगायत हामीले सकेनौं भने नयाँ टिम आएर अघि बढ्छ । इतिहासले हामी कसैलाई पनि पर्खदैन, नयाँ शक्तिको उदय हुन्छ भनेर भनेको हुँ । यो कुरा मलाई सही लाग्छ र यसमा अझै पनि दृढ छु । यस्ता वैचारिक राजनीतिक वहसहरु पार्टीभित्र मात्र नभएर सार्वजनिक रुपमा पनि गरेर लैजानुपर्छ भन्ने हाम्रो धारणा छ । अहिलेको विज्ञान र प्रविधिको युगमा जनता र कार्यकर्ताको बीचमा व्यापक वहसको रुपमा लानुपर्छ । यसरी मात्र विचारलाई उन्नत पार्न सकिन्छ ।

 

यदी पार्टी रुपान्तरण भएन भने नयाँ शक्तिको नेतृत्व म लिन्छु भन्न खोज्नुभएको हो ?

 

अब कसले नेतृत्व गर्ने कुराबाट बहस शुरु ग¥यौं भने ठीक ठाउँमा हामी आइपुग्दैनौं । अहिले हामी एजेण्डामा केन्द्रित हुनुपर्छ । विचार, राजनीति, संगठनात्मक प्रणाली, नेतृत्व प्रणाली, कार्यशैली लगायतका विषयमा छलफल र सहमति हुनुपर्छ, त्यसैको आधारमा कसले नेतृत्व गर्छ भन्ने कुरा आउँछ । म फेरि पनि अब बन्ने नयाँ शक्ति व्यक्तिप्रधान हुन्छ भन्ने मान्यता राख्दिन । त्यसले नयाँ युगको आवश्यकतालाई पूरा गर्न सक्दैन । त्यो सामूहिकताको केन्द्रिकृत अभिव्यक्ति नै हुन्छ । आजीवन पदमा बस्ने, आफूलाई भगवानजस्तो रुपमा प्रस्तुत गर्ने र जनता र कार्यकर्तालाई उसको पछुवा मात्र ठान्ने, त्यस्तो शक्तिले अहिलेको युगको आवश्यकतालाई पूरा गर्न सक्दैन । त्यही भएर नयाँ ढंगले जानुपर्छ भन्ने मेरो मान्यता हो ।

 

तपाईंको यही ‘नयाँ शक्ति’ को विचारबाट अत्तालिएर अध्यक्ष प्रचण्ड मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादीसँग एकताको पहल गरिराख्नुभएको भन्ने समाचारहरु पनि बाहिर आएका छन् । कति सत्यता छ यसमा ?

 

यसमा मैले सार्वजनिक टिप्पणी गर्नु त्यति उपयुक्त हुँदैन । यद्यपि मैले नयाँ शक्तिको विकास भनेपछि त्यहाँ जोकोही पनि सामेल हुन सक्छन् । त्यस अर्थमा हामीसँग हिजो अलग भएर जानुभएका कमरेडहरुलाई पनि हामीले छाड्नुहुँदैन, वहाँहरुलाई पनि हामीले समटेर जानुपर्छ । त्यसैले यो एकता प्रक्रियासँग मेरो विरोध होइन । मुख्य कुरा भनको विचार र राजनीति प्रष्ट नभई, दुईवटा भिन्न दिशातर्फ हिँडिरहेको दुई शक्तिबीचको एकताले केही परिणाम ल्याउन सक्दैन । म हेटौंडा महाधिवेशनले लिएको कार्यदिशाबाट अझ अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । कयौं साथीहरु भने हेटौंडा महाधिवेशन गलत भयो अब त्यसबाट अझ पछि फर्कनुपर्छ भन्नुहुन्छ । त्यसैले पछाडि फर्कने र अगाडि बढ्ने भन्ने शक्तिको एकताले कहीँ पनि पु¥याउँदैन । त्यसैले एकता हुनुपर्छ, तर विचार, राजनीति र कार्यदिशामा प्रष्ट भएर मात्र गरेको राम्रो हुन्छ । यसमा एकरुपता भएपछि मात्र पार्टीको एकता गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

 

पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा चाँही कहाँ पुग्यो ?

 

मैले नेतृत्व, संगठन, विचार, कार्यशैली आदि सबैको सामूहिक कुरा गरेको हुँ । धेरैले यसलाई नेतृत्व वा व्यक्ति विशेष भनेर मात्र बुझ्न खोज्छन् । त्यो विलकुलै गलत हो । नयाँ विचार, नयाँ संगठन आदि अनुसारको नयाँ नेतृत्व हुनुपर्छ भन्ने कुरा गर्दै आएको हुँ । त्यसैले नयाँ साथीहरुलाई पनि अगाडि ल्याउनुपर्छ अनि मात्र उनीहरुले सिक्छन् भन्ने मेरो मान्यता हो । हामीमात्र सँधै नेतृत्वमा बसेर हुँदैन । यहाँ राजाले युवराजलाई नेतृत्व हस्तान्तरण गर्ने होइन । उनीहरुलाई सामूहिकताभित्र ल्याएर जिम्मेवारी दिएर, अनुभवबाट खरिएर नयाँ नेतृत्वको विकास गर्नुपर्छ । त्यसैले हामीले वैचारिक रुपमा नेतृत्व गरे पनि सांगठनिक, सदन आदि क्षेत्रमा नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ भन्ने कुरा मैले राख्दै आएको छु । तर, त्यो कुरा अहिलेसम्म पनि कार्यान्वयन हुनसकेको छैन । संविधानसभाको निर्वाचनपछि मलाई के लागेको छ भने पार्टीको मुख्य नेतृत्व सरकारमा जानु गल्ती भएको रहेछ । क्रान्ति पूरा नभएको अवस्थामा मुख्य नेतृत्व नै सरकारमा जाँदा वैचारिक राजनीतिक आन्दोलन पछाडि पर्ने र पार्टीको अग्रगामी क्रान्तिकारी सोच भुत्ते हुने खतरा एकापट्टि हुँदो रहेछ भने अर्कोतिर मुख्य नेतृत्व नै दैनिक काममा मुछिदा विभिन्न गैर क्रान्तिकारी वा हाम्रो आर्दशभन्दा बाहिरको कुरामा पनि जोडिन पुग्ने हुँदा नेतृत्वको छवि विग्रने पनि हुँदो रहेछ । जुन हाम्रो व्यवहारले पनि देखायो । त्यही भएर सरकार र सदनभन्दा पार्टी र विचारको काममा केन्द्रित हुने र अन्य साथीहरुलाई त्यसमा पठाउनुपर्छ भन्ने कुरा राख्दै आएको हुँ । अहिले हामीलाई सरकारको नेतृत्व गर्नु पनि छैन त्यही भएर नयाँ ढंगको पार्टी निर्माण गर्नु छ भने नयाँ पुस्तालाई सदनको जिम्मा दिनुपर्छ भन्ने कुरा मैले पार्टीमा राख्दै आएको छु ।

 

सरकारमा मुख्य नेतृत्व जानुहुँदैन भन्ने कुरा त तपाईंले पहिले उठाउनु भएको थियो । मौका पाएपछि खुट्टा उचालेर जाने अनि अहिले गल्ती महसुस गरेर हुन्छ ?

 

सबै कुरा हामीलाई थाहा हुने भन्ने हुँदैन । त्यो भगवानलाई मात्र थाहा हुन्छ, जुन अमूर्त छ । हामीले निरन्तर रुपमा समिक्षा गर्दै सिक्दै जाने हो । त्यही गल्ती दोहो¥याउनु गल्ती हुन्छ । अरुलाई स्थान दिनुपर्छ भनेर भनेका हौं । त्यहाँ हामी चुक्यौं भनेर मैले धेरै पहिलेदेखि भन्दै आएको छु । यसको अर्थ हामीले केही गर्नै हुँदैन भन्ने पनि होइन । हामी गान्धी भएर लंगौटी बोकेर हिँड्ने भनेका छैनौं । त्यसमा म विश्वास गर्दिन । त्यो पाखण्ड हुन्छ । हामीले समाजको विकास गर्नु छ । फेरि पाखण्डी आर्दशको कुरा गरेर हुँदैन । हामीले कसैको शोषण गर्नु हुँदैन । त्यही भित्र रहेर अन्य काम गर्दै जानुपर्छ । पूरै विशुद्धतावादी बन्ने हो भने हरिद्वारमा तपस्या गर्नु बाहेक कुनै विकल्प हुँदैन ।

 

तपाईंले भारतको आम आदमी पार्टी जस्तै पार्टी नेपालमा बनाउन खोजिराखेको कुरा पनि चल्न थालेको छ । कति सत्यता छ त्यसमा ?

 

यो आम आदमी भनेको भर्खर आएको कुरा हो । मैले आजको माक्र्सवाद भन्ने ५ वर्षअघि नै उठाएको कुरा हो । वि.सं २०६० सालमा नै नयाँ ढंगको पार्टी निर्माण गर्नुपर्छ भनेर मैले उठाएको हुँ । त्यसैले यो कसैसँग यो कुरा जोड्नु त्यति उपयुक्त हुँदैन । हाम्रो देशको सापेक्षतामा नयाँ शक्ति बन्छ, कसैको नक्कल गरेर त्यो बन्दैन ।

 

तपाईंले आफ्नो आलेखमा छलफल र बहस जोसँग पनि हुनसक्छ जसको थलो संविधानसभा पनि बन्न सक्छ भन्नुभएको छ । के भनेपछि कमल थापाहरुसँग पनि अब छलफल र बहस गर्ने त ?

 

अहिले हामी संविधान निर्माणको प्रक्रियामा छौं । जुन मैले लोकतन्त्रको मोडल, आर्थिक विकासको मोडेल आदिको कुरा गरेको छु, यी कुराहरु नयाँ संविधानमा राख्नुपर्छ । त्यसैले यी कुराहरु संविधानसभाभित्र पनि बहस र छलफल गर्नुपर्छ, त्यहाँ मात्र गर्ने भनेको होइन । त्यो भनेको अग्रगामी एजेण्डासँग सहमत हुनेहरु बीचको छलफल हो, पश्चगामी शक्तिको होइन । त्यसैले पश्चगामी चिन्तन बोक्ने शक्तिसँग छलफल गर्नु भनेको बालुवा पेल्नुमात्र हुन्छ ।

 

तपाईंले गर्नु भएको राष्ट्रियताको कुरामा त कांग्रेस–एमालेभन्दा राष्ट्रवादी शक्ति नै बढी नजिक हुन्छन् नि होइन र ?

 

विचार र राजनीति मुख्य कुरा हो, कुनै अंश मात्र मिलेर केही हुन्न । फुटेको हाँडीलाई जोडेर राम्रो हाँडी बन्दैन । यहाँ नयाँ हाँडी बनाउने भन्ने खोजेको हो । पूरानै विचार बोकेर नयाँ शक्ति हुनुपर्छ ।

 

संविधानसभाबाट अलग हुन्छु भन्ने माओवादी कांग्रेस–एमालेको भागबन्डापछि बाँकी रहेको संविधानसभाको उपाध्यक्षको पद लिन कि गएको ?

 

हामीलाई यसरी बुझ्नु भएन । हामी सरकारमा सहभागी हुनुहुँदैन भन्ने हाम्रो स्पष्ट धारणा हो । तर संविधान निर्माण प्रक्रियाबाट अलग हुन्छौं भनेका छैनौं । त्यसैले संविधान बनाउने काममा हामीले सहभागीता जनाउनुपर्छ र रचनात्मक भूमिका खेल्नुपर्छ भन्ने नीति अनुसार हामीले वहाँलाई संविधानसभाको उपाध्यक्ष पदमा पठाएका हौं ।

 

तपाईंहरुले भनेको धाँधलीको छानविनको कुरा कहाँ पुग्यो त ?

 

हामीबीच चार बुँदै सहमति भएको हो । त्यो दुर्भाग्य पूर्ण रुपमा कांग्रेस–एमालेले पालना गरेका छैनन् । हामीले पनि त्यसमा आवश्यक दबाब दिन सकिरहेका छैनौं । हामी आफै अकर्मन्यतामा फँसिरहेका छौं । संविधानसभाभित्र पनि हाम्रो भूमिका प्रभावकारी हुनपथ्र्यो, त्यो पनि हुन सकिराखेको छैन । यो छलफलको विषय हो । माओवादीभित्र विषयको उठान हुने तर त्यसलाई निश्कर्षमा पुग्नभन्दा अघि लुकाउन खोजिने प्रवृति रहेको छ । जस्तै नेताहरुको सम्पत्ति छानविन गर्ने ।

 

तपाईंको विचारको पनि त्यही हविगत हुने त होइन ?

 

यस विषयमा हामी अन्य पार्टीभन्दा फरक देखिन नसक्नु दुर्भाग्यपूर्ण कुरा भएको छ । कांग्रेस–एमालेमा भ्रष्टचारमा जेल परेर आएको मान्छेलाई पनि फुलमाला अविरले स्वागत गर्ने कुरा सामान्य हुन्छ । तर हामीले भ्रष्टचार र निजी स्वार्थ जस्ता मान्यता राख्नुहुँदैन भन्ने पार्टीमा यस्ता प्रश्न उठेपछि त्यसमा आवश्यक छानविन गरेर कारवाही नगर्नु हाम्रो कमजोरी भएको छ । त्यो म स्वीकार छु ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार