September 20, 2017, 4:44 pm      |      २०७४ असोज ०४ बुधबार
NEWS HEADLINES

वाहुन यो देशको भान्से हो

बाहुनहरू माथि जातीय भेदभाव भएको भन्दै नारायणप्रसाद अधिकारीले २०६६ मा नेपाल ब्राह्मण समाज स्थापना गरे । मल्याङकोट–६ स्याङ्जामा जन्मिएका अधिकारी पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रध्यापन गछ्र्रन् । स्पष्ट वक्ताको परिचय बनाएका ५४ वर्षीय अधिकारी जातीय पार्टीको विपक्षमा छन् । समाजको देशव्यापी सञ्जाल बनाएका अधिकारीसँग गरिको कुराकानीः

ब्राह्मण समाजको आवश्यकता किन पर्यो  ?
ब्राह्मण समाज बनाउने आवश्यकता दुईटा कुराले पर्यो । पहिलो हरेक देशवासीलाई समान अधिकार दिनुपर्नेमा सरकारले कसलाई काखा कसैलाई पाखा गरेर एउटै देशका नागरिकलाई जातीय आधारमा विभेद गर्न थाल्यो । हामी यो देशका सबै नागरिक आदिवासी हौं । जातजातका बिचमा झगडा गराउनु उपयुक्त हुँदैन । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र ल्यायौं । यस्तो अवस्थामा आएर जातिगत कुरा गर्नु ठिक होइन भन्ने आवाज बुलन्द पार्न, नेताहरुले आफ्नो स्वार्थ पूरा गर्न जुन जातजातिलाई आपसमा लडाउने जुन काम गरे तिनलाई सहि ट्रयाकमा ल्याउन ब्राह्मण समाज खोलेका हौं । अर्को चाँही नेपाली सँस्कृति छ । बौद्ध र वैदिक सँस्कृतिको मिश्रण नै नेपाली सँस्कृति हो । संसारमा ठूला धर्म मानिएका दुई धर्मको उद्गमस्थल नेपाल हो । ती दुई सँस्कृति समाप्त पार्न ठूलो जालझेल र षडयन्त्र हुँदैछ । हामी यसमा सतर्क रहनुपर्छ । अनेकतामा एकता, विभेदतामा समानता  हाम्रो नेपाली सँस्कृति हो । यसलाई मर्न दिनु हुँदैन भनेर  ब्राह्मण समाज खोलेका हौं ।

जातका कुरो गर्नुभो, आखिर ब्राह्मण समाज पनि त एउटा जातीय सँस्था हो नी ?
हो, तर, काँडा निकाल्न काँडा नै चाहिने रहेछ । नेपालमा पछिल्लो समय बाहुनलाई जसरी अपमान गर्न थालियो । नेपालमा जातीय विषबृक्ष रोपियो यसलाई हटाउन जातकै माध्यमबाट उठेर समाप्त पार्न सकिन्छ । हामीसँग अर्को बिकल्प पनि थिएन । सबै जातजातिका नाममा समाज खुलिसकेका थिए । नेपालमा जसरी बाहुनलाई विभेद गर्न थालियो, त्यसपछि बाहुनको आइडेन्टीटी पनि बनाऊ भनेर ब्राह्मण समाज बनायौं । यो आफैमा जातसँग जोडिन पुग्यो । अरु नाम पनि के राख्ने ? नेपाल भन्ने पनि अर्थ नराख्ने । अरु नाम पनि के राख्ने ? यो देश निर्माणमा सबै जातिको भूमिका छ । बाहुनको पनि अग्रणी भूमिका छ । त्यसैले बाहुनलाई जातकै आधारमा विभेद गर्न थालेपछि हामीले खबरदारी गर्नका लागि समाज बनाएका हौं ।

 ब्राह्मण समाजको शाखा कति पुग्यो ?
६८ जिल्लामा शाखा भइसकेको छ । कास्कीका ४३ वटै गाविस, लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिकाका १८ वटै वडामा समिति क्रियाशिल छन् ।

बाहुनहरु १२ औं शताब्दीमा नेपाल आएको इतिहास पढाइन्छ । तपाईहरु बाहुन पनि नेपालको आदिवासी हो भन्नुहुन्छ । प्रमाण के छन् ?
बाहुनहरु पनि नेपालका आदिवासी हुन् भन्ने हाम्रो सप्रमाण दावी छ । समाजशास्त्रीहरुका अनुसार नेपालमा उत्तरतिरबाट मंगोलियन र दक्षिणतिरबाट आर्यमूलका मान्छेहरु आए । दुवैले आपसमा मिलेर यहाँ वस्ती बसाले भन्ने तथ्यलाई मान्ने हो भने दुवै आगन्तुक भए । एकदुई वर्ष अघि को आए, पछि को आए भन्ने कुराले अर्थ राख्दैन । यो हजारौं वर्ष पहिलेको कुरा हो । उत्तरतिरबाट आएकालाई आदिवासी भन्ने अनि दक्षिणतिरबाट आएकालाई गैरआदिवासी मान्ने ठिक होइन । इतिहास पल्टाउने हो भने उत्तरतिरबाट आएकाभन्दा दक्षिणतिरबाट आएकाहरुको पनि कुनै कुरामा कम  छैन । के यी दुवै समुदायलाई लडाउने, जुधाउने ? अस्तिसम्म कति मिठो मिलन थियो । इस्ट र बन्धुको रुपमा हेरिन्थ्यो । उत्तरतिर बस्नेले जिम्मु उत्पादन गथ्र्यो । तल झथ्र्यो अनि हामीले इष्ट मान्थ्यौं । अर्कोले कोदो उत्पादन गथ्र्यो उसले बन्धु मान्थ्यो । तर तिमी त बाहुन इन्डियाबाट आएका हौं भन्ने थालियो । अनि बाहुने तिमी त भोटे हौं, उतातिरबाट भेडा चराउँदै आएका हौ भन्ने वातावरण बन्यो । यति मिठो मिलनलाई द्वन्द्व निम्त्याउने काम भयो । नेताले गलत काम गरे । बुझेर गरे, नबुझेर गरे, कसैको इशारामा गरे यो सबै गलत काम गरे । तर, बाहुन पनि यो देशका आदिवासी हुन् ।

अघि भन्नुभाथ्यो, बाहुनहरु यो देशका आदिवासी हुन् भन्ने प्रमाण छ भनेर के प्रमाण छ त्यस्तो ?
नेपाल प्रवेश गर्ने भन्ने कुरा नै अनौठो छ । नेपाल भन्ने शब्द प्राचीन कालमा काठमाडौंलाई मात्रै जनाइन्थ्यो । पृथ्वीनारायाण शाहले एकिकरण गरेपछि मात्रै नेपाल राष्ट्र आएको हो । एकिकरण गर्दा पनि क्षेत्री बाहुन थिए । यहाँ आइएलो १६९ को कुरा गरिन्छ । त्यसमा के लेखेको छ, ‘कुनै पनि राष्ट्र निर्माणका बेला वा आधुनिकिकरण हुँदाका बखत जुनजुन जाति बसेका छन् ती सबै आदिवासी हुन्’ भनिन्छ । त्यो परिभाषाले हामी बाहुन पनि आदिवासी हौं । कुरै सकियो । कति शताब्दीमा आए बाहुन भन्ने हामीसँग लिखित प्रमाण छैन, पत्याउने खालको । ढुंगामा प्रमाण छैन । किताब लेखिएको छैन । कताबाट आए, आए । यसरी अठ्याउँदै जाने हो भने हिमालय उपत्यकामा वैदिक रचना भएको भनेर पुराणमा लेखिएको छ । बेद, पुराणको रचना १५ हजार इशापूर्वमा लेखिएको हो । त्यसोभए १५ हजार इशापूर्वमा यहाँ वैदि ऋषिहरु आएका थिए । बैदिक ऋषिहरु को थिए, भन्दा ब्राह्मणका पूर्वज थिए । अनि इशापूर्व १५ औं शताब्दीदेखि हाम्रो अस्तित्व यहँ थियो किन नभन्ने ? आधार छन् नि बेदका आधारमा । पूराणका आधारमा । कुइरेहरुका किताबलाई मात्रै आधार मान्ने भन्ने छ र ? उनीहरुले लेखिदिए, १२ औं शताब्दिमा भारतमा आक्रमण भएपछि बाहुनहरु आफ्नो धर्म रक्षा र ज्यान जोगाउन नेपाल आए भनेर । यी सबै वाहियात कुरा हुन् ।

ब्राह्मण समाजले किन आरक्षणको विरोध गरेको ?
होइन, आरक्षणको विरोध होइन, यसको तरिकाको विरोध हो । जस्तै घरमा पनि जो कमजोर छ । अपाङ्ग छ । त्यसलाई माया गरिन्छ । आमाबाले मर्ने बेला पनि यो अपाङ्गलाई हेर है भनेर अरुलाई अह्राउँछन् । हो त्यस्तालाई आरक्षण दिनुपर्छ ।  देशमा पनि सबै मानिस सबल हुँदैनन् । सबै जना कमजोर पनि छैनन् । एउटा अपाङ्ग बच्चा त जसको घरमा पनि जन्मिन्छ । बाहुनको घरमा पनि दलितको घरमा पनि । त्यसैले जातको आधारमा हैन, गरिबको आधारमा, अशक्तताको आधारमा आरक्षण हुनुपर्छ भन्ने हाम्रो कुरा हो ।

आफै जातीय संस्थाको अध्यक्ष भएर काम गर्नु भयो । किन रहेछ बाहुनको विरोध भएको ?
भान्सेसँग सबैले भाग माग्दो रैछन् । भान्सेले कहिलेकाँही आफूलाई भाग राखेको छ । तर, कोही माग्न आयो भने त्यसलाई दियो, भान्से रित्तै । बाहुन पनि भान्से हो । जुन क्षेत्रमा जो मान्छे लाग्यो त्यहि क्षेत्रमा त्यसको पहुँच हुनेरैछ । पहिले शिक्षाको प्रचार खासै थिएन । राणाकालमा सँस्कृत शिक्षा आयो । त्यतिबेला बाहुनहरु सक्रिय भएर पढे । वनारस र इन्डियाका विभिन्न ठाउँमा गए पढे अनि नेपाल आए । पाठशाला खोल्ने काम गरे । पढ्न आउनेलाई पढाए । नेपालमा २०१७ सालको आसपासमा निजामति कर्मचारी राख्ने क्रम शुरु भयो । त्यसपछि पढेलेखेका योग्यलाई सरकारले खोजी गर्यो । त्यतिबेला पढेलेखेका अरुभन्दा बाहुन नै थिए । अनि उनीहरुको पहुँच निजामति, सरकारी क्षेत्रमा बढ्यो । जसले सुरु गर्यो त्यही माथी जाने हो । अहिले सचिव बढी देखिनु कारण यहि हो । तर, अहिले त सबै जातजातिको उस्तै अवस्था छ । बाहुन बढी छैन । योजना बनाएर बाहुनैबाहुन छानेर सचिव बनाउ भनेर कोही लागेको पनि होइन । केही क्षेत्रमा बाहुनहरु प्रमुख छन् । तर, आर्मी, शसस्त्र, पुलिस, अनुसन्धानका प्रमुख त बाहुन छैनन् नि । त्यहाँ हाम्रो भएन भनेर हुन्छ ? त्यसैले सरकारी निकायमा बाहुनको वचश्र्व देखेर अरुले बाहुनको विरोध गरेका हुन् ।

राजनीति, प्रध्यापन, वकालत, कर्मचारीतन्त्र आदिमा क्षेत्री वाहुनको एकछत्र दवदवा रहनुको राज के हो ?
लाहुरेमा गुरुङ/मगर अघि छन् । प्राज्ञिकमा बाहुन अघि छन् । त्यो पनि किन भएको भन्दा बाहुनलाई भर्ती लिएन । म पनि २९ सालमा भर्ती हुन कुनाघाट गएको हुँ । मेरो गाउँमा मगर, गुरुङ, ठकुरी सबै भर्ती जाने । मेरा दावली सबै लाहुरे हुन जाने । कोही लाहुरे भइसकेका थिए । गल्लावाल जाँदा मलाई पनि रहर लाग्यो । त्यतिबेला लाहुरेको शानै अर्के थियो । अनि गाउँका गल्लावाललाई भने । तर, उनले बाहुनको छोरो भर्ती हुनु हुँदैन भनेका थिए । मलाई रहर लाग्यो भने । उनीसँगै कुनाघाट गएँ । तर अन्तिममा मलाई बाहुन भनेर भर्ती लिएन । त्यतिबेला थापा लेखेर भर्ती हुन चलन थियो । मैले पनि थापा लेखेको थिएँ । एक जनाले यो त बाहुन हो भनेपछि लिएन । भर्ती नापिन कपालसपाल फालिसकेको थिएँ । घर आउन लाज लाग्यो । त्यसपछि म साथीसँग वनारस गएँ पढ्न । सँस्कृत पढेर आएँ । अहिले मेरा दवाली गुरुङ÷मगरका बिल्डिङ घर छन् । उनीहरु लाहुरे भए । म पिएन क्याम्पसमा चप्पल पड्काउँदैछु । यो मेरो क्षेत्र भयो । अनि मैले किन म हल्वदार सुवदार भएन भनेर हुन्छ । ती लाहुरे किन बाहुनको छोरो प्रोफेसर भयो भनेर हुँन्छ । यो त केटाकेटी पारा भयो । त्यसैले बाहुनको विरोध गर्नुमा केही तुक छैन । बाहुनको विरोध गर्न उक्साउने तत्व अर्कै छ ।

त्यसो भए अन्य समुदायलाई बाहुनको विरोध गर्न उक्साउने तत्व के हो ?
चेतनाकोस्तर कम र निकै कम भएका मान्छेलाई बेकुफ बनाएर आफ्नो फाइदा लुट्न पल्केका बदमास नेताहरुले उठाएको कुरा हो । मान्छेलाई बेकुप बनाएर आफ्नो भलो चिताउने राष्ट्रघातीले उठाएको कुरा हो । यस्तो पाराले मगरको नाममा, गुरुङको नाममा राज्य दिएर फुल्याएर, फकाएर आफ्नो स्वार्थसिद्ध गर्नेै अनि विदेशीको चाकडी गर्ने बाहेक केही हुँदैन । यस्ता कुराको विरोध गरेर, चेतना विस्तार गरि हामी सबै नेपाली नागरिक हौं । मिलेर बस्नुपर्छ । हिजो पनि यसरी नै बसेका थियौं, आज पनि बसेका छौै । भोलीसम्म पनि रहनुपर्छ । भन्न हामी लागि परेका छौं ।

ब्राह्मण समाजमा लागेका केही व्यक्तिले नेपाल स्वाभीमान पार्टी बनाए ? तपाई किन लाग्नु भएन ?
कुनै पनि समाजले पार्टी खोल्नु हुँदैन । बाहुन, मगर, गुरुङ लगायत विभिन्न जातीय समाजको आप्mनै गरिमा छ । हाम्रो सँस्कृति छ, सभ्यता र रितिरिवाज छ । यसको संरक्षण गर्ने हाम्रो काम हो । हाम्रो काम भनेको जोड्ने हो । फुटाउने होइन । राजजीतिमा एउटा पद हुन्छ । मान्छे धेरै हुन्छन् । धेरै मान्छे जाँदा स्वार्थ मिल्दैन । अनि फुट्छन् । एउटै घरका दाजुभाइ पनि विभिन्न पार्टीमा फुट्छन् । तर, समाज भनेको विभिन्न क्षेत्रमा रहेका मान्छेलाई जोड्ने चौतारी हो । चौतारीमा जो पनि आएर बस्न सक्छन् । गुरुङ, समाज बाहुन समाजको पार्टी खोल्ने हो भने । एमाले, कांग्रेस, माओवादी गएका बाहुन के हुने ? सबै पार्टीमा बाहुन छन् । बाहुनको पार्टी भए पनि सबै बाहुन आफ्नो पार्टी छाडेर त्यो पार्टीमा त आउँदैनन् नि । त्यसो भयो भने समाज त सानो हुने भयो । समाज सानो भएपछि एउटा व्यक्तिको महत्वकांक्षा पूरा गर्न समाजले खोलेका पार्टी सफल होलान् । तर, सिंगो समाजको भलो हुँदैन । त्यसैले अहिले जातीय आधारमा पार्टी खोल्ने जमाना होइन भनेर मैले ब्राह्मण समाजलाई पार्टीमा बदल्नु हुँदैन भनेर विरोध गरेको हुँ ।

तँपाईलाई धम्की आयो भन्ने कुरा पनि छ । कसले किन दियो धम्की ?
हो, मैले बारम्बार पत्रिकामा निकालेर, बोलेर ब्राह्मण समाजलाई पार्टीमा परिवर्तन गर्नु हुँदैन भनेर विरोध गरे । त्यसबापत समाजका मान्छेले मेरो आलोचना गरे । अखण्ड नेपाल पार्टीका मान्छेले पनि मेरो खुब आलोचना गरे । मेरो विरुद्ध अत्यन्तै नकरात्मक कुरा गर्ने र चरित्र हत्या गर्ने काम पनि भयो । कतिसम्म भने यो पार्टीलाई समर्थन गरिनस् भने तेरो ‘सफाया’ गर्दिन्छौं भन्ने सम्मका धम्की आए । सफाया गर्छौ भने गर्देऊ भाइ म सहिद हुन तयार छु । तर, मेरो सत्व सत्य, मेरो बह्मले देखेको यथार्थ यहि हो । म यहिँ बस्छु र बाहिर पनि निस्कन्छु । मेरा अंग रक्षक पनि छैनन् । कसैले मार्छ भने मार्देउ । म विवेकको हत्या गर्दिन । नेपालभूमि मेरो पनि हो भनेर म अडिग रहे । अन्तत्वगत्वा ति सबै पछुताका छन् ।

जातीय पार्टी खोलेर संविधानसभामा पुगेका पनि छ छन् नि ?
एउटा सिट मात्रै जित्यो अखण्ड नेपाल पार्टीले । त्यही पनि समाजको नाउ बेचेर । समाजको नाउ नबेच्या भए एक सिट ल्याउन पनि गाह्रो हुन्थ्यो । ब्राह्मण समाजलाई पनि त्यसरी प्रयोग गर्न खोजेका थिए । मैले प्रयोग गर्न दिइन । आखिरमा उनीहरुको हैसियत देखियो । जे हुनु थियो त्यो भयो ।

आफैआफैमा लड्ने भिड्ने कसले बनाए ?

राजनीनितक दल र तिनका नेताले यस्तो बनाए । राजनीतिक पार्टी र नेताको जात, धर्म, इमान पनि हुँदो रहेनछ । यिनीहरु भनेको बेश्या जस्तै हुँदारहेछन् । जसले पैसा दियो उसैसँग सुतिदिने । त्यसैले जसले सत्तामा पुर्याइदिन्छु भनेर आशा देखायो । जसबाट गुलियो कुरा पायो उसैको कुरा बोकेर हिड्यो । अनि घर, देश, परिवारको कुरा पनि बिर्सियो । सिंहदरबारमा फोटो कसरी झुन्ड्याउन सकिन्छ, म कसरी सत्तामा गएर त्यो कुर्सीमा बस्न पाउँछु भन्ने बाहेक नेतासँग राष्ट्रभक्ति भन्ने कुरा हुँदो रहेनछ । एउटा सत्य कुरा के हो भने, हामी राष्ट्रको बागडोर हाँकिरहेका नेताहरु राष्ट्रबारे सोच्दा हुन् भन्ने ठान्छौं त्यो गलत रहेछ । मैले अहिलेसम्म संगत गरेका नेता हेर्दा यिनीहरुजस्ता राष्ष्ट्रघाती, राष्ट्रद्रोहीचाँही कुनै नेपाली पनि छैन । यिनीहरुको एउटा मात्रै स्वार्थ के भने पार्टी कसरी बलियो बनाउने, पार्टीमा म कसरी बलियो हुने ? सत्तामा कसरी पुग्ने र टिक्ने ? सत्तामा टिक्न र पुग्नका लागि उनीहरुले कुनै पनि राष्ट्रघाती काम गर्न बाँकी नराख्ने । देश बेच्नपर्छ कि नदि बेच्न पर्छ कि । वन बेच्न पर्छ कि । यतिसम्म कि यिनीहरुलाई, म तिमलाई २५ वर्षसम्म प्रधानमन्त्री बनाइदिन्छु भनेपछि सगरमाथा बेच्न पनि तयार हुन्छन् । यतिसम्म छुद्रता नेपाली राजनीतिमा छ ।

सबै नेतामा म त्यसो भन्दिन । यो देशमा पनि राष्ट्रभक्त नेपाली जन्मेका थिए । तर, अहिलेको जुन नेत्तृत्व पँक्ति छ । कांग्रेस, माओवादी, एमालेका सबै नेत्तृत्वलाई एउटै कुरा चाहिएको छ– सत्ता । यो दुर्भाग्यबाट हामीले नेपाललाई बचाउनुपर्छ । सबै सचेत भएर यिनका पछाडी लागिएन भने राम्रो हुन्छ । अहिलेको चुनावले पनि दियो दनक । नागरिक सचेत भए मुलुक बचाउन सकिन्छ । मुलुक बाँचे हामी सबै बाँच्छौं ।

अर्को प्रसंग, ब्राह्मण समाजले किन संघियताको विरोध गरेको ?
संघियता एक कारणले आवश्यक छ अर्को कारणले छैन । नेपाल हिमाल पहाड, तराई मिलेर बनेको छ । सबै ठाउँमा विकास पुगेको छैन । सबैको समानुपातिक विकास गर्न, अधिकार विकेन्द्रिकरण गर्न संघियताको कुरा गरिएको हो भने संघियता आवश्यक छ । हिमाल, पहाड र तराई मिलाएर, अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच वटा वटा राज्य बनाए भइहाल्छ । यस्तो भए सबै किन काठमाडौं जान्छन् र । जातका आधारमा, मधेस दुइ टुक्रा पार्ने पहाड दश टुक्रा बनाउने हो भने संघियता चाहिदैन । देशले धान्नै नसक्ने जातीय आधारमा संघियता दिने हो भने त्यस्तो संघियता चाँहिदैन । विदेशीलाई  चलखेल गर्न चाहिने संघियता पनि काम छैन । नियत कस्तो हो त्यसमा भर पर्छ ।

उसो भए, प्रदेशका नाम के आधार राख्न ठिक हुन्छ ?
प्राकृतिक आधारमा प्रदेशका नाम राख्दा राम्रो हुन्छ ।

ब्राह्मण समाज खेल्नु त नेपाल सपाङ्ग समाज खोले जस्तो भएन र ?
हाहाहा…त्यस्तो त होइन । किन कि, बाहुन भनेका सबै सपाङ्ग छैनन् । अहिलको जणगणना अनुसार गरिबिको रेखामुनि रहेका बाहुन ३५ प्रतिशत छन् । तीमध्ये कतिपय भारी बोक्ने छन् । घान्दु्रकमा जानुभो भने गुरुङका घर कुर्ने र तिनका डोको बोक्ने, घाँस काट्ने भैसी हेर्ने बाहुनहरु छन् । मिनबहादुर गुरुङको सुपरमार्केटमा कुचो लगाउने बाहुन छन् । भनेपछि अपाङ्गको लागि हो कि सपाङ्गको लागि । त्यसैले जातका आधारमा विभेद गर्नु हुँदैन । त्यही कुलमा जन्मेका धनी पनि हुन्छ गरिब पनि । सुदुर र मध्यपश्चिमको बाहुन क्षेत्री, ठकुरी नैनितालमा भारी बोक्ने काम पनि गर्छन् । तिनलाई तँ शासक होस् भनेर टिको लगाइदिने । आलिशान भवनमा बस्ने, चिल्ला कारमा हिड्नेलाई चाँही जातकै आधारमा राज्यबाट सेवा दिने ? त्यसैले यो गलत आरोप हो ।

 

 
 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार