September 25, 2017, 6:59 pm      |      २०७४ असोज ०९ सोमबार
NEWS HEADLINES

पद, पैसा र प्रतिष्ठालाई रद्दी मान्ने गायक – जीवन शर्मा

प्रधानपञ्च, मुखिया र जिम्मावालको विरासत बोकेको परिवारको सन्तानले शोषितपीडितका गीत गाउँदै नयाँ व्यवस्था माग्नु आफैमा एउटा विद्रोह थियो। २०१६ सालमा बाग्लुङ राङखानीको एक सम्पन्न परिवारमा जन्मिएका जीवन शर्मालाई पुर्ख्यौली वैभवले रत्तिभर रोकेन, बरु गरिबका झुपडीले जिन्दगीभर तानिरह्‍यो।
परिवारको इज्जत धान्ला भनेर आशा गरेको छोराको ‘विपरीत बुद्धि’ बाबुलाई सैह्‍य भएन। छोरालाई सम्झाउन उनले लाख कोसिस गरे।


‘सम्झाउनुभयो पनि के भन्नु। यसो नगर भनेर सिधै थर्काउनुभयो’, जीवन भन्छन्, ‘अति धार्मिक। बिहान ४ देखि ११ बजेसम्म पूजाकोठामै बास हुन्थ्यो। राजाको भक्त। तत्कालीन व्यवस्थाको हिमायती।‘

रक्तिम सांस्कृतिक अभियानको काठमाडौं अनामनगरस्थित कार्यालयमा परलोक भैसकेका बाबुको ‘कुरा काटिरहेका’ उनी राजनीतिक प्राणी कम र ध्यानी बढी देखिन्थे।

जीवनको अठोटका अगाडि बाबुको दबाब फिक्का भयो। ‘बुबाले पनि मेरो भलो नै चिताउनुभएको थियो तर मेरो बाटो नै बेग्लै थियो’, उनी भन्छन्।

‘सर्वहारा वर्गको निम्ति जीवन अर्पण गर्ने’ उनको प्रतिबद्धताका अगाडि सम्पूर्ण दबाब/प्रभाव निस्तेज हुँदै गए। उनले परिवार त्यागे तर आफ्नो विचार र आस्था त्यागेनन्। ज्ञानको खोजीमा बुद्धले परिवार छोडेजस्तै उनले पनि परिवार त्यागे र ‘मृत्यु वा मुक्ति’ को खोजीका निस्किए।
****
जीवनको जीवनमा ‘टर्निङ प्वाइन्ट’


तीन कक्षा फेल भएपछि उनलाई पुनः स्कुल जान मन लागेन। ‘गोठालो भएर हिँडे। गाईबाख्रा चराउँदै’, उनी सम्झन्छन्, ‘बुबाले कौमदी पढाउन गुरुकहाँ लगिदिनुभयो। पढेजस्तो मात्र गरिदिएँ।‘

तीन वर्षपछि उनलाई फेरि स्कुल भर्ना गरियो। तीन कक्षा फेल भएर तीन वर्ष हल्लिएको मान्छेलाई बाबुले जबर्जस्ती सात कक्षामा भर्ना गरिदिए।

‘के भयो कुन्नि, म त खुब पढ्न थालेँ। एकै वर्षको मिहिनेतमा कक्षामा पहिलो भएछु’, उनले सम्झिए, ‘न जोडघटाउ आउँथ्यो। न एबीसीडी। कसरी पढेँ र पहिलो भएँ? सम्झिँदा ताजुब लाग्छ।‘

यो घटना नै जीवनको जीवनमा टर्निङ प्वाइन्ट थियो।

‘फेरि स्कुल नगएको भए म अलिपछि दिल्ली वा मद्रास जान्थेँ होला’, उनी भन्छन्, ‘स्कुल जान थालेपछि नै राजनीतिक संगत भयो। त्यही सुसुप्त राजनीतिक चेतनाले मलाई अहिलेसम्म डोर्‍यायो।‘

बाग्लुङको सर्कुवास्थित जनता माविबाट उनले २०३४ सालमा ६८ प्रतिशत अंक ल्याएर एसएलसी पास गरे।

पहिलो गीत

jiban sharma 2

 

स्कुले जीवनबाटै गीतसंगीतले तानेकोले उनी विद्यालयमा हुने अन्तरसदनात्मक प्रतियोगितामा सहभागी हुन्थे। ‘गीतसंगीत भनेपछि हुरुक्क। सांगीतिक प्रतियोगिता छुटाउँदैनथेँ’, उनी भन्छन्, ‘म धेरैजसो विजयी हुन्थेँ।‘

यो प्रारम्भिक प्रकारको सांगीतिक यात्रा थियो।

राजनीतिक व्यवस्था जस्तै संगीत पनि फरक हुन्छ भन्ने चेतना आएपछि उनलाई परम्परागत भन्दा बेग्लै गीतसंगीतले तान्यो। ‘शोषण, अन्याय र अत्याचारविरुद्ध गीत गाउनुपर्छ भन्ने सामान्य चेतना त थियो तर यस्ता गीत कहाँ पाइन्छ भन्ने थाहा थिएन’, उनी भन्छन्, ‘काठमाडौं आएपछि ३६ सालको आन्दोलनताका यस्ता गीतसंगीत सुन्न पाइयो। हामीले चाहेजस्ता गीत पनि हुनेरहेछन् भन्ने थाहा भयो।‘
पछि उनी आफैले जनताका गीत लेख्न र गाउन थाले। ‘मैले लेखेर पनि गीत हुन्छ र भन्ने लाग्थ्यो। भावनालाई शब्द बनाएँ। बिस्तारै ती गीत बन्दै गए।‘

‘तपाईँको पहिलो गीत?’

एकछिन गमेपछि उनले आफूले लेखेको पहिलो गीत गाए-

“कति छन् यहाँ छटपटाइरहेका निशालाई देखेर
चाँडै नै आओस् बिहानी सुन्दर अँध्यारो चिरेर।
पूर्वमा लाली चम्केको देख्न आत्तिने छन् कति
मानवको रगत पिएर दानव मात्तिने छन् कति….”

उनका हजारौँ गीत डायरीका पानामा थन्किएका छन्। करिब ७ सय जति रेकर्ड भएका छन्।                                                                                                                                                 ****

पारिजातसितको भेट

पञ्चायतकालको जगजगी थियो। विद्यालयमा राजतन्त्र र पञ्चायती व्यवस्थाकै पक्षमा पढाइ हुन्थ्यो। पाठ्यपुस्तकमा राजाकै गुणागान। अधिकांश शिक्षक राजाका भक्त भएपनि  केही भने फरक थिए।

उनीहरु भन्थे- पढेअनुसारको देश छैन। पढाइ र वास्तविकता समान छैन। देश अविकसित छ। विपन्न छ। अशिक्षा, अभाव र भोकोपन छ। शिक्षा पनि हामीले अर्कै दिएका छौँ।

उनीहरुका कुरा जीवनको बालमस्तिष्कमा गहिरोसँग बस्यो- ‘देश विकास हुन नसक्नुको मूलकारण राजतन्त्र हो, सामन्तवाद हो। समाजवाद र साम्यवाद नल्याएसम्म परिवर्तन र विकास सम्भव छैन।‘

‘समाजका सचेत व्यक्तिले भनेका यी कुराले ममा गहिरो प्रभाव पार्‍यो’, उनी भन्छन्।

गाउँमा छँदा सूक्ष्म रहेको राजनीतिक चेतना काठमाडौं आएपछि झाङ्गिने मौका पायो।

उनी नेकपा मसालमा संगठित भैसकेका थिए। काठमाडौं आउने बेला गाउँ पार्टी कमिटीले ‘कमिटेड गराउनु’ भनेर यहाँको कमिटीलाई पत्र लेखिदियो। त्यही पत्र बोकेर उनी २०३५ सालमा काठमाडौं छिरे।

काठमाडौंमा उनको पत्र बुझ्ने मान्छे थिइन्- साहित्यकार पारिजात। पारिजात त्यतिबेला महिला संघको अध्यक्ष थिइन्।

‘उनैले को-कसलाई के के भनिन्। मान्छेहरु भेटाइदिइन्। म वेदना परिवारमा संगठित भएँ र गीत गाउन थालेँ‘, जीवन सम्झिन्छन्, ‘गाउँमा जस्तै काठमाडौंमा पनि हाम्रो संगठन रहेछ भन्ने मैले पहिलो पटक थाहा पाएँ।‘
‌                                                                      

टुङ्गियो इन्जिनियरिङ यात्रा

 

jiban sharma 3

 

पुल्चोक क्याम्पसमा इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न थालेको करिव डेढ वर्ष नपुग्दै ३६ सालमा विद्यार्थी आन्दोलनको आँधीबेहरी चल्यो। आन्दोलनताका छुटेको इन्जिनियरिङ अध्ययन छुटेको छुट्यै भयो।

‘गीत गाउँदै हिँड्न थालियो। आन्दोलन सकियो तर पढाइमा मन फर्किएन। इन्जिनियरिङ यात्रा यत्तिमै टुंगियो’, उनी भन्छन्, ‘त्यसपछिको अधिकांश जिन्दगी गीतसंगीतमै बित्यो।‘

विद्यार्थी आन्दोलन रोकिएपछि ३८ सालमा उनले सोलुखुम्बु जिल्लामा पढाए एक वर्षजति। एक वर्ष मुस्ताङ जिल्लामा पढाए। केही समय बाग्लुङमा पनि पढाए। जनताको अवस्था बुझ्ने, राजनीतिक सञ्जाल/ सम्बन्ध बढाउने र विद्रोहको चेतना फैलाउने योजनामा उनले केही वर्ष देशका विभिन्न भूभागमा अध्यापन गरे।

छुटेको पढाइलाई निरन्तरता दिन उनलाई आवश्यक केही रकम जम्मा भएको थियो। त्यसपछि उनी भारतको बनारस गए, आइए पास गरे र नेपाल फर्किए। पछि उनले त्रिचन्द्र क्याम्पसबाट दर्शन र अंग्रेजीमा बीए गरे। मानवशास्त्रमा एमए गरे। अंग्रेजीमा एमए गर्ने रहर भने पुरा गर्न सकेनन्।

यहीबीच ३९ सालमा उनको बिहे भयो। तीन छोरा भए। बिहे भएको १३ वर्षपछि ५२ सालमा श्रीमतीसँग सम्बन्धविच्छेद भयो। त्यसपछि उनले दोश्रो बिहे गरे। ५९ सालमा छोरी जन्मिइन्। तीन छोरा आआफ्नो बाटो लागेका छन्। यता आफू, छोरी र श्रीमतीको डेरा जिन्दगी जारी छ।

रक्तिम सांस्कृतिक अभियान

बाग्लुङबाट काठमाडौं आउँदा आफू पूर्णरुपमा गीतसंगीतमै लाग्छु भन्ने उनलाई लागेको रहेनछ। राजनीति गर्छु भन्नेचाहिँ उनले सोचेका रहेछन्।

‘सुरुमा त राजनीतिक यात्रा नै प्रधान थियो। पार्टीमा सांस्कृतिक फाँटको नेतृत्व गर्ने मानिसको अभाव थियो’, उनी भन्छन्, ‘पार्टी नेतृत्व र साथीहरुबाट ‘तैले नेतृत्व गर्नुपर्छ’ भन्ने सुझाव आएपछि मेरो पूर्णकालीन सांगीतिक यात्रा सुरु भयो।‘

त्यसैले जन्मायो रक्तिम सांस्कृतिक अभियान।

२०४३ चैत २६ गते त्रिचन्द्र क्याम्पसस्थित घण्टाघर फेदीबाट जीवनसहितका नौ जनाले सुरु गरेको यो संगठनमा हजारौँ कलाकार आवद्ध छन् जसको नेतृत्व उनी आफैले गरेका छन्।

गीत गाएबापत अराष्ट्रिय तत्व भन्दै सरकारले ४२ सालमा उनलाई राज्यद्रोहको मुद्दा पनि लगायो। ४४ सालमा उनको टाउकोको ५० हजार मूल्य तोकिएपछि झन् लुकीछिपी हिँड्नुपर्ने अवस्था आयो।

‘४६ सालसम्म भूमिगत अवस्थामा गीत गायौँ’, उनी सम्झिन्छन्, ‘यहाँ कार्यक्रम हुँदै छ भनेर हल्ला गर्‍यो। अर्को ठाउँमा गएर गीत गायो अनि छापामार शैलीमा भाग्यो।’





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार