आमाको चिठी

तिमीलाई रुवाउन यो चिठी लेखेकी होइन ।

 
प्यारी छोरी धरती, 
भर्खरै काममा छिरे। हिउँदको चिसो साँझ। वाहिर हिऊ परिरहेको छ। हावाको गसिसँगै हिऊ परपरसम्म उडिरहेको छ। परिरहेको हिऊ सुन्दर लाग्छ तिमी जस्तै। रुवाजस्तो हिऊ हावामा नै विस्तारै टुक्रिदै र विलाउँदै जान्छ मेरा धेरै सपनाहरु जस्तै। भुइमा झरेको हिऊ कठाङ्ग्रिएको छ, मेरो जीन्दगी जस्तै। जतावाट हेरे पनि यो हिऊ मेरो जीवनसँग मिल्छ जस्तो पो लाग्छ त। 
 
यहाँ हिऊ भन्दा धेरै मनहरु पो कठाङ्ग्रिएका छन्। मौसममा सुधार आउला। भोलि घाम लाग्ला। न्यानो होला। यहाँ कठाङ्ग्रिएका मनहरुमा न्यानो हुने देख्दिन म।
 
एकैछिन छोरी, मिष्टर स्मिथको कोठाको कल लाइट वल्यो। म उसलाई हेरेर आएर फेरी चिठीलाई निरन्तरता दिनेछु।
 
हामी रेसिडेन्सले सहयोगको आग्रह गर्दै वालेको वत्तीलाई कललाईट भन्छौ। जीवनको उत्तरार्धमा नर्सिङ होमको सेवा लिन आएका मानिसहरु रेसिडेन्स हुन्। अमेरिकाका अधिकांश वुढावुढीलाई घरमा स्याहार गर्ने कोही आफन्त हुँदैनन्, भएका आफन्तले स्याहार गर्न भ्याउँदैन वा चाहदैनन्। म पेशाको कारण अशक्त बुढाबुढीहरुको सेवामा जुटेकी छु ।
 
छोरी धरती,
 
म मिष्टर स्मिथको कोठावाट फर्किए। बाहिरवाट झट्ट हेर्दा अमेरिकी जीवन स्वप्निल लाग्ला तर गहिराइमा गएर हेर्दा विचित्र लाग्छ। अधेरो टनेलमा पसेजस्तै। मानिसहरु अंधेरो टनेलमा पसेपछि वरीपरी को को छ देख्न सक्दैनन् तर कतै टाढा उज्यालो छ कि भनेर वरीपरी भएका मानिसलाई नै कुल्चिदै निस्कन हतारिएका छन्।
 
प्रविधिको विकासले मानिसले दीर्घजीवन त पाएका छन् तर दीर्घजीवलाई सुखी वनाउन असल हृदय पाएका छैनन्। प्रविधिले माया, प्रेम, स्नेह, उत्तरदायित्व आविश्कार गर्दो रहेनछ। यहां नर्सिङ होममा धेरै मानिसहरु १ सय वर्ष उमेर कटेका छन् तर यति लामो जीवनमा उनीहरुले एकजना पनि सांच्चैको आफन्त वनाउन सकेका रहेनछन् कि जस्तो लाग्छ। मिष्टर स्मिथसंग कुरा गरेर फर्किए। मलाइ यस्तै यस्तै लाग्यो।
 
म कोठामा पसेपछि मिष्टर स्मिथले आंसु भरिएका आंखाहरु विस्तारै खोलेर मलाई हेर्‍यो। भन्यो – अवदेखि मेरो कोठामा नआऊनु ल। 
 
ऊ जहिले पनि उसका कामहरु मैले गरिदिऊ भन्ने चाहन्थ्यो। उसको व्यवहारले मलाई अचम्म लाग्यो। सोधे – किन? 
 
रुँदै भन्यो – अव म धेरै वांच्न चाहन्न र तिमीलाई थप दुख दिएर पाप वोक्न चाहन्न।
 
भित्तामा मिष्टर स्मिथका युवावस्थाका तस्विरहरु झुण्डिएका छन्। ऊ अमेरिकी सेनामा थियो। तत्कालीन राष्ट्रपतिहरुवाट सम्मान ग्रहण गरेका थुप्रै तस्विरहरु लहरै छन्। देशको सेवा गर्दागर्दै वुढेसकालमा आफ्नो सेवा गर्ने कोही पनि वनाउन पाएनछ क्यार या वनाएका आफन्तहरु टाढिइ सके, उसलाई भेट्न कोही पनि आएको मलाई याद छैन। तस्विरमा देखिएको एउटा वलिष्ट मिष्टर स्मिथ र मेरो अगाडिको वेडमा रुंदै गरेको मिष्टर स्मिथ एउटै हो कि होइन भन्ने छुट्याउन गाह्रो पर्छ। उसका शरिरमा अव त्यो वल छैन, त्यो सौर्य छैन, जुन अमेरिकी सेना हुंदा थियो। उसको छाला झिल्लि जस्तो मात्रै वनेर हाडमा टांसिएको छ, शरिरमा मासु नै छैन कि जस्तो लाग्छ।
 
हेर, मैले एकै वर्षमा १६ वटा गोल्ड मेडल पाएको थिए – केही दिन अगाडि मलाई उसले पटक पटक आफ्ना गोल्ड मेडलहरु देखाउंदै भनेको थियो – १६ वटा गोल्ड मेडल प्राप्त गरेको वर्ष मलाई सोह्रै जना केटीहरुले प्रेम प्रस्ताव राखेका थिए।
मिष्टर स्मिथ रमाइला कुरा गर्थ्यो। हसाउंथ्यो। आज ऊ निरास छ।
 
मैले उसलाई सम्झाए। यो मेरो पेशा हो। मैले आफ्नो पेशा गर्दा उसलाई पाप लाग्दैन। तर ऊ संझिने अवस्थामा थिएन। 
 
विगत दश वर्षदेखि म नर्सिङ होममा छु, पेशागत भूमिका निर्वाह गर्नु र सेवा गर्नु फरक कुरा रहेछन् भन्ने मैले वुझेको छु – ऊ भन्दै गयो – तिमी पेशासंगै सेवा गरिरहेकी थियौ। अव म वांच्दिन भन्ने थाहा भइसकेको छ, अव मलाई रोग निको पार्ने औषधि रोकिदेउ र केवल मर्न सजिलो होस् भनेर पीडा थाहा नहुने औषधि मात्रै देऊ भनिसकेको छु। 
 
चिकित्सकले दिएको रिपोर्टलाई आधार मान्ने हो भने मिष्टर स्मिथ अझै केही वर्ष सहज रुपमा बाँच्न सक्छ।
 
केही दिन अगाडिसम्म ऊसलाई वेडवाट उठाएर ह्वीलचेयरमा राखिदिए पछि यताउता गरिरहन्थ्यो। आफ्नो दाह्री काटिदिन आग्रह गर्थ्यो र दाह्री काटिदिए पछि आफै अनुहारमा क्रिम लगाउँथ्यो।
 
तेल लगाएर कपाल कोर्थ्यो, ऐनामा हेर्थ्यो र मुस्कुराउँथ्यो। उसलाई आफ्नो जीवनप्रति गौरव थियो र अझै बाँच्ने आशा थियो। तर ऊ यताउति गर्ने रहरले आफैं वेडवाट उठ्न र लगातार लड्न थाल्यो। विस्तारै उसलाई मर्फिन दिन थालियो र शिथिल बन्दै गयो।
 
अव ऊ आफैं औषधि नखाएर स्वेच्छिक मृत्युवरण गर्न दृढ निश्चयी भइसकेको थियो। मिष्टर स्मिथको जीवनको काउण्ट डाउन सुरु भएको म वुझ्न सक्छु।  मिष्टर स्मिथको कोठावाट फर्कदा मन गह्रौ भएको छ। आफुले दिनै खुवाइ पियाइ गरिरहेको मानिस अन्तिम अवस्थामा पुग्दा को विचलित नहोलार?
 
मिष्टर स्मिथले भनेको ठिकै रहेछ। म पेशा मात्रै गरेकी भए यसरी विचलित हुने थिइन, सेवा गर्न लागेकी रहेछु। मनमा गांठा परेजस्तो भएको छ। कोही साम्ने आइपुगे भने मेरो आवाज नै आउंदैन कि जस्तो भएको छ। मनलाई मिष्टर स्मिथभन्दा टाढा पुर्‍याउन झ्यालवाट पर हेरिरहेकी छु। हिऊँले शहरलाई ठप्प छोपिसकेको छ। लुइभेल डाउनटाउनका गगनचुम्वी घरहरु हुंदै आंखा अहिले ओहायो नदीमा पुगेर रोकिएका छन्, एउटा पानी जहाज ओरालो झरिरहेछ हाम्रो जीवन
 
जस्तै।
 
छोरी धरती, 
 
मलाई मिशेस रसेलको कोठामा जान मन लाग्यो। मिशेस रसेल पार्किन्सन्स रोगवाट ग्रस्त भएर नर्सिङ होमको सेवा लिन आइपुगेकी हुन्। उनको शरिर राम्ररी चल्दैन। उमेर धेरै भएको होइन। केवल ७० मात्रै। ७० वर्षमा अमेरिकीहरु काममा नै जुटेका हुन्छन्। कति अमेरिकीहरु त ७० वर्षको उमेरमा पनि नयाँ काम खोजिरहेका हुन्छन्। हुनत, ६५ वर्ष कटेका अमेरिकी नागरिकहरुले राज्यवाट सामाजिक सुरक्षा भत्ता पाउंछन् तर उनीहरु सकेसम्म काम गर्न चाहन्छन्। पहिलो कारण त काम छाडेपछि जीवन चांडै वुढो हुन्छ भन्ने उनीहरुको मान्यता छ भने दोस्रो कारण जति वढी काम गरेर राज्यलाई कर वुझायो, अवकास लिएपछि पाउने सामाजिक सुरक्षा भत्ता त्यति नै वढी हुन्छ भन्ने लोभ पनि उनीहरुमा छ।
 
मिशेस रसेलका साथीहरु अझै पनि काम गरिरहेका छन् तर ऊनी रोगको कारण थन्किनु परेको छ। उनलाई अझै पनि निको भएर लङ्ग ड्राइभमा जाने इच्छा छ। म सवैलाई किन मिष्टर र मिशेस भनेर सम्वोधन गरिरहेकी छु भन्ने तिमीलाई लाग्ला, यो उनीहरुप्रतिको सम्मान हो। देख्न नसक्ने, वोल्न नसक्ने वा शरिरले कुनै प्रतिक्रिया नै व्यक्त नगर्ने रेसिडेन्सहरुलाई पनि सम्मानका साथ सम्वोधन गर्छौ।  
 
मिशेस रसेलको कोठामा छिर्दाछिर्दै मिशेस ब्रिट्नीमा आंखा परे। यो कोठामा मिशेस रसेल र मिशेस ब्रिट्नीलाई राखिएको छ। मिशेस ब्रिट्नी टोटल हो। हामी सम्पूर्ण सेवा दिनुपर्ने रेसिडेन्सलाई टोटल भन्छौ। तर उनीहरुलाई विरामी जस्तो व्यवहार गरिदैन, उनीहरुको लागि यो हस्पिटल नभएर एउटा घर नै हो किनकी उनीहरुले आफ्नो वांकी जीवन यही विताउंछन्। यसैले, हामी उनीहरुलाई प्यासेन्ट नभनेर रेसिडेन्स भन्छौ।
 
मिशेस ब्रिटनीको पति मिष्टर ह्वील पनि यही नर्सिङ होममा छ। ऊ टोटल होइन। एसिष्टेड लिभिङमा छ। नर्सिङ होमको अपार्टमेन्टमा वस्छ, थोरै मात्रै सेवा लिन्छ, जसवापत उसले अलि थोरै रकम तिरे पुग्छ भने टोटल केयरमा हुनेहरुले धेरै पैसा तिर्नुपर्छ। तिमी अनुमान गर्न पनि सक्दिनौ होला छोरी, यहां टोटल केयर रेसिडेन्सहरुले मासिक ७ हजार डलर तिर्छन तर सेवा भने १ हजार डलरको पनि पाउंदैनन्।
 
राम्रो सेवा नपाउंदा उनीहरुको मन नराम्ररी भांचिन्छ । एसिष्टेड लिभिङमा भर्ना भएका रेसिडेन्सहरु पनि राम्रो सेवा नपाएकै कारण केही समयमा नै टोटल केयरमा रुपान्तरित भइसकेका हुन्छन्।
 
मिष्टर ह्वील लौरो टेकेर हरेक दिन अपार्टमेन्टवाट मिसेस ब्रिटनीको कोठासम्म आउँछ। मिसेस ब्रिट्नी आँखाको इशाराले वाहेक केही कुरा गर्न सक्दिन। तर पनि ऊ आउँछ। छेऊमा बस्छ। 
 
मनको भित्रि कुनामा सम्हालेर राखेका जीन्दगीका पुराना पाटाहरुलाई पल्टाउंछु र रुन्छु – उसले एकदिन मलाई सुनाएको थियो। दिनहुं कोठाका भित्तामा सजाएका युवावस्थाका तस्विरहरुलाई निहाल्छ।  उनीहरुको हनिमुनको समयमा श्रीलंकाको नेगम्वो वीचमा खिचेका तस्विर सांच्चै नै सुन्दर छन्।
 
तिनै सुन्दर तस्विरहरु हेरेर ऊ आज रुन पाएको छ। कुनै प्रतिक्रिया नजनाउने पत्नीलाई अंगालो मार्छ, विस्तारै निधारमा चुम्वन गर्छ र थुप्रैवेर घुक्कघुंक्क रोइरहन्छ। ऊ दिनहुं यहां रुन आउछ भन्दा हुन्छ। 
मिशेस ब्रिट्नीको छोरा अर्को शहरमा काम गर्छ, शायद क्रिशमसको समयमा मात्रै आमा वुवालाई भेट्न आउंछ। तर हरेक दिन आमाको लागि समय निकाल्छ। फोन गर्छ र आमाको कानमा लगाइदिन भन्छ। ऊ सानो हुंदा आमाले मन पराउने र गुनगुनाउने गीतहरु कानमा गाइदिन्छ। 
 
गीतहरु गाउँदा गाउँदै ऊ भक्कानिन्छ। घुंक्क घुंक्क रोएको सुनिन्छ। 
 
आइ लभ यु सो मच मम, आइ मिस यु सो मच – फोन राख्नु अगाडि ऊसले सधै भन्ने गर्छ। मिसेस ब्रिट्नीका आंखावाट आंसु वग्छन्। उसले दिनहुं आफु रुन र आमालाई रुवाउन मात्रै फोन गर्छ। तर यसले मिसेस ब्रिट्नीलाई आफ्नो छोरो भएको र छोरालाई आमा भएको आभाष दिलाउँछ।
 
मिष्टर ह्वीलका हातहरु काप्छन् तर पनि मिसेस ब्रिट्नीका आंसुलाई तुरुन्तै पुछिदिन्छ। थर्थराएका हातहरुले चम्चा समाएर पत्नीलाई खुवाउंछ। मिष्टर ह्वील श्रीमतीलाई मन पर्ने मेनु अर्डर त गर्छ नि तर ऊ खान सक्दिन। अव यो जुनीमा मिष्टर ह्वीलको मिशेस ब्रिट्नीलाई मिठो खुवाउने सपना अधुरै रहन्छ। 
 
छोरी, के तिम्रा पनि आंखा रसाएका हुन्?  तिमी अहिले चिठी पढ्न छाडेर परपर हेरिरहेकी छ्यौ जस्तो मलाई लागिरहेको छ। तिम्रो जीऊ तातोतातो हुंदै गएको जस्तो मलाई महसुस भएको छ। के हतार हतार हतार आंसु पुछिरहेकी छ्यौ?  
छोरी धरती, म तिमीलाई रुवाउन यो चिठी लेखिरहेकी छैन। 
 
मलाई पति र पत्नीबिचको नाता सबैभन्दा नजिक र सबैभन्दा टाढाको हुन्छ जस्तो लाग्छ। जवसम्म साथमा हुन्छन्, त्यो भन्दा नजिकको सम्वन्ध अरु हुंदैन तर जव कुनै कारणवश छुटिन्छन् त्यो भन्दा टाढाको अर्को नाता नै हुँदैन। हेरन, छोराछोरी कहिले पनि पूर्व हुँदैनन, बाबुआमा कहिले पनि पूर्व हुंदैनन् तर पति पत्नी छुटिए भने पूर्व पति, पूर्व पत्नी भनिन्छन् तर नाता वांकी रहंदैन। यतिवेला म तिम्रो वावालाई सम्भि्करहेकी छु, तिम्रो वावाविनाको मेरो जीवन आजकल अर्थहीन लाग्न थालेको छ तर जे वित्यो म त्यसलाई फिर्ता ल्याउन सक्दिन।
 
तर एउटा निश्कर्षमा भने पुगेकी छु – जीवनका अन्तिम क्षण वा अप्ठेरा क्षणहरुमा पति पत्नीले एकापसमा दिने जस्तो सेवा अरु कसैले पनि दिन सक्दैन।
 
आफ्नी पत्नीलाई यति धेरै माया गर्ने मिष्टर ह्वील दिनहुं आइरहन्छ अर्कोतिर यही कोठामा मिशेस रसेल आफुलाई पुरै एक्लो महसुस गरिरहेकीछिन्। 
 
एन्जेल, यता वस न – म छिरेको देख्नासाथ मिशेस रसेलले भनिन्।
 
छोरी, म एन्जेल त होइन। तर मिशेस रसेलले मलाई एन्जेल भनेर वोलाउंछिन्। उनी भन्छिन् – मैले नभनी नै मेरा मनका कुरा र आवश्यकता तिमी वुझ्न सक्छ्यौ, त्यसैले तिमी एन्जेल हौ। 
 
आज मलाई साह्रै एक्लो महसुस भएको छ, मलाई डर लागेको छ, एकैछिन संगै वसन एन्जेल – उनले आग्रह गरिन्। मैले छेऊमा वसेर उनको कपाल सुम्सुम्याए। उनका आंखाहरु भरिएको मैले देखे।
 
एन्जेल म किन एक्ली भए? उनले मलाई सोधिन। 
 
म तिमीसंगै छु त कसरी एक्ली छौ – मैले भने।
 
जीन्दगीका प्रत्येक पानालाई आज दोहोर्‍याएर पढ्दैछु –– उनले भनिन् – शायद मेरो पति भएको भए आज मेरो छेऊमा बसिरहेको हुन्थ्यो होला। मिशेस ब्रिट्नीलाई जस्तै दिनभरी चुपचाप माया गरिरहेको हुन्थ्यो होला। ऊ त छैन तर मेरा छोराछोरी त छन् नि। किन उनीहरु आफ्नो आमालाई सम्झदैनन्? 
 
उनी आफ्ना छोराछोरी सम्भि्कन मौन भइन्। उनको एउटा छोरा र एउटा छोरी यही शहरमा वस्छन्। झट्ट हेर्दा सांच्चै निष्ठुर लाग्छन् उनीहरु। आफ्नी आमालाई भेट्न आउन पनि वर्षौ लाउंछन्। कति पटक उनले छोराछोरी भेट्न मन लागेर आफु साह्रै विरामी भएको भन्दै फोन गरेको मैले सुनेकी छु।
 
मम्, रोग लागेपछि र शरिर वुढो हुंदै गएपछि गाह्रो हुन्छ, धैर्यता राख – छोरीले प्राय यही जवाफ दोहोर्‍याउंछे – त्यहां सवै सेवा सुविधा छ, आरामले वस, हामी दिनभरी काम गरेर थाकेका हुन्छौ, दुख नदेऊ न।
 
एन्जेल – एकछिनको मौनतापछि मिशेस रसेल फेरी वोलिन् – परिवारसंग वस्नु जस्तो सुख अरु हुंदो रहेनछ भनेर मेरा छोराछोरीले कहिला वुझ्लान्? 
 
म चुपचाप नै वसे। मैले उनीहरुको परिवारको विषयमा राय दिनु उचित थिएन। उनले फेरी भनिन् – एकदिन फोनमा मैले मेरी छोरीलाई आइ लभ यु छोरी भने कुनै जवाफ नै आएन। मैले फेरी छोरी तिमी सुनिरहेकी छौ, आइ लभ यु भने फेरी पनि जवाफ दिइन। मैले अन्तिममा वाइ भने उतावाट केवल वाइ भन्ने आवाज मात्रै आयो। किन छोराछोरी आफ्नी आमालाई आइ लभ यु मम् भन्न पनि सक्दैनन? 
 
मलाई पनि त मेरा छोराछोरी नातिनातिनासंग वसेर खान मन लाग्छ। हो, विरामको कारण मलाई घरमा सधै हेरचाह गर्न नसक्लान्, तर चाडपर्व संगै वसेर मनाउन मन लाग्छ, मेरो जीन्दगीका धेरै दिनहरु विताएको ठाऊमा जान मन लाग्छ। मैले र मेरो पतिले वनाएको घरमा केही क्षण विताउन मन लाग्छ। छोराछोरी किन आमाप्रति यति निष्ठुर र भावनाशुन्य भएका होलान्। 
 
उनी फेरि वोलिन् – मैले उनीहरुलाई २ सय ७० दिन त आफ्नो पेटमा वोके, तर उनीहरु एकदिनको समय आफ्नो आमालाई छुट्याउंदैनन्, मैले वर्षौ लगाएर उनीलाई तोते वोली सिकाए तर अहिले एक पल आफ्नो आमासंग वोल्न रुचाउंदैनन्। मैले उनीहरुलाई हजारौ पटक होइन, लाखौ पटक  आइ लभ यु भने हुंला उनीहरु एकपटक किन आफ्नी आमालाई आइ लभ यु मम भन्दैनन्? किन?
 
मिसेस रसेलका प्रश्नको मसंग जवाफ थिएन। त्यो उनीलाई थाहा थियो। तर उनी आज सवै मनका कुरा सुनाउन चाहन्थिन्। 
 
मैले आफ्नो पेट भोको हुंदा हुंदै पहिला उनीहरुलाई चपाएर खुवाए तर उनीहरु आज आफ्नी आमा भोकी छे कि भन्ने सोच्दैनन्, उनीहरुलाई अलिअलि टाउको दुख्दासमेत पनि डाक्टरकोमा दौडाए, अहिले आमालाई कति पीडा भएको छ, चासो समेत व्यक्त गर्दैनन्, उनीहरुको आंखामा एकपल आंशु आउन नदिइ खुसी दिए तर अहिले मेरो आंखामा खहरे उर्लिदा समेत पनि वास्ता गर्दैनन्?  यस्तो किन हुन्छ एन्जेल? – मिसेस रसेलले मलाई सोधिन् –जव वावुआमा छोराछोरीका लागि केही गर्न नसक्ने अवस्थामा पुग्छन्, त्यसपछि वावुआमाको औचित्य सकिन्छ? वावुआमा वुढावुढी भएपछि छोराछोरीका लागि वोझ वन्छन्?
 
हरेक दिन मिसेस रसेलका गुनासा सुनेपछि एकदिन मैले उनकी छोरीलाई फोन गरे। सोधे – तिम्रो ममले तिमीलाई साहै्र मिस गरिरहनु भएको छ, किन भेट्न आउंदिनौ? किन तिम्रो दाइ आउँदैनन्? 
 
छोरीले मसँग भनेकी थिइन् – म घरको मोडगेज तिर्न, छोराछोरीको खर्च जुटाउन र दैनिक जीवन चलाउन दिनमा दुइ सिफ्ट काम गरिरहेकी छु, म वसेको ठाऊवाट नर्सिङ होमसम्म आउन डेढ घण्टा समय लाग्छ, फर्कन त्यतिनै। अनि भनत, म कसरी आउन सक्छु? मलाइ मेरी मम्लाई नर्सिङ होम राख्न मन छैन तर के गर्नु मम्लाई दिने समय पनि त मसंग छैन। 
 
एउटा कुरा भनौ – एकछिन रोकिएर उनले भनिन् – मम्ले मलाई फोनमा जव आइ लभ यु भन्छिन् नि, म वोल्नै सक्दिन, भक्कानिएकी हुन्छु, आफुसंग राख्न नसकेर नर्सिङ होममा मम्लाई पुर्‍याए पछि मम्लाई आइ लभ यु भन्नु नाटक मात्रै हो जस्तो मलाई लाग्छ। 
 
उनले आफ्नो दाइको पीडा पनि मलाई सुनाइन्।
 
दाइले दुईवटा वच्चा सहितकी केटीसंग विवाह गर्‍यो, यहीवाट उसका दुखका दिन सुरु भए – मिसेस रसेलकी छोरीले भनिन् – विवाह गरेको एक डेढ वर्षमा नै त्यो केटी दाइलाई छाडेर अर्कोसंग गइछे तर ती दुइजना वच्चा भने आफ्नी आमा र नयां वावुसंग जान मानेनन्, हामी पुरानै स्टेप फादरसंग वस्छौं भने। यहां तिमीलाई थाहा नै छ, वालवालिकाले भनेपछि त्यही नै अन्तिम सत्य हुन्छ, मेरो दाइ एकातिर काम र अर्कोतिर पूर्व पत्नीका वच्चाहरुको लालनपालनमा व्यस्त छ, छाडेर कसरी आउन सक्छ? 
 
यहाँ भावना एकातिर भएपनि परिस्थितिले मानिसलाई अर्कैतिर मोडेको हुन्छ छोरी। त्यसैले त, मिशेस रसेलका कुनै प्रश्नको जवाफ मसंग छैन। मिसेस रसेल रित्तिएको इनारमा भर्नलाई गाग्री डुवाउंदैछिन् जस्तो महसुस भइरहेको छ। मेरै जीवनका धेरै प्रश्नहरुको जवाफ मसंग छैन भने अरुका प्रश्नको जवाफ मसंग कसरी हुनसक्छ र? तर पनि मैले उनलाई आज भरोसा दिनु छ। उनका आफन्तसंग विश्वास उठिसकेपछि मसंग केही अपेक्षा गरेकी छिन्।
 
मैले भने – मिशेस रशेल, तिम्रा लागि म छु, तिम्रो सेवा गर्न मलाई भगवानले पठाएका हुन्, म तिम्री एन्जेल हुं। यो संसार त एउटा भ्रम मात्रै हो, सत्य त एउटै हुन्छ, त्यो हो परमात्मा। तिमी जव परमात्मामा लीन हुन्छ्यौ, न तिम्रा छोरा हुन्छन्, न तिम्री छोरी हुन्छन्। न त तिमीसंग कुनै गुनासा नै हुन्छन्। त्यसैले यो संसार विर्स। किन पीर गर्छ्यौ? तिमी र म परमेश्वरको गीतहरु गाऔं। 
 
उनी परमेश्वरका गीतहरु गाउन राजी भइन्। आंखा अगाडि भएका र आफैले खडा गरेका सहाराहरु काम नआएपछि अदृश्य रहेका भगवानहरु सहारा वन्दा रहेछन् जस्तो लाग्यो। 
 
मैले र मिशेस रसेलले येशुको गीतहरु गाउन सुरु गर्‍यौं। मिष्टर ह्वील पनि आएर साथ दियो। म हिन्दू हुं तर पनि म येशुका गीतहरु गाइरहेकी छु। यो मिशेश रसेलको खुसीका लागि। मानव खुसीभन्दा पर मेरा लागि मेरो अर्को कुनै धर्म छैन। अहिले मिशेस रसेल साह्रै राम्री देखिएकी थिइन्। ऊनी मसंग भन्ने गर्थी – मेरो जमानामा म व्युटी क्वीन थिए। सांच्चि हो रहेछ।
 
येसका गीतहरु गाइसके पछि मिशेश रशेल र मिष्टर ह्वील सन्तुष्ट देखिन्थे।
 
एन्जेल – मिसेस रशेलले भनिन् – म एक पटक मेरो छोरालाई अन्तिम कल गर्छु ल। 
 
मैले उनले दिएको नम्वरमा डायल गरेर रिसिभर दिए।
 
मिष्टर व्रुस, म नर्सिङ होमवाट वोलिरहेको छु, तिम्री आमा मिशेस रसेल भर्खरै वित्नुभयो – आश्चर्य, मिशेस रशेलले आफ्नो मृत्युको सन्देश छोरालाई दिइन।  
 
छोरी, मिष्टर व्रुसको आफ्नो आमाको निधनको सम्वन्धमा जुन जवाफ आयो नि, मलाई त्यसले सांच्चै नै भावविह्वल वनायो। 
 
अहिले म काममा छु, आज समय निकाल्न सक्दिन, शवलाई फनेरल होम पठाइदिनु, भोली म उतै जान्छु – कुनै पीडावोध विना नै मिष्टर व्रुसले भन्यो।
 
छोराको जवाफ पछि मिशेस रसेलले माथि आकासतर्फ हेरिन्। उनको अनुहार पहेलो हुंदै गयो। आंखाका कोषहरु सेता देखिए। मलाई विस्तारै च्याप्प अंगालोमा हालिन्। विस्तारै मुटुको धड्कन कम हुंदै गयो। मैले कललाइट वाले। तुरुन्तै नर्सहरु आए। हामी निश्कर्षमा पुग्यौ – मिशेस रसेल अव चीर निद्रामा जांदैछिन्। उनीसंग अव आफ्ना छोराछोरी नआएको गुनासो हुने छैन। मैले र मिष्टर ह्वीलले येशुका गीतहरु गायौ। अरुले साथ दिए। उनी विदा भइन्।
 
छोरी धरती, मिशेस रसेलको आत्मा परमात्मामा लीन भयो तर उनको शरिर मेरो सामु थियो। मानिस मरीकेपछि हामी पोष्ट मार्टम केयर गर्छौ। पोष्ट मार्टम केयर पनि त्यति नै सावधानीपूर्वक गर्छौ जति जिऊदो मानिसलाई केयर गरिन्छ।
 
मैले मिसेस रसेललाई वेडवाथ दिए। वेडमा सुत्दासुत्दा शरिर रातो भइसकेको थियो। नुहाइसकेपछि उनको शरिरमा उनलाई मन पर्ने क्रिम लगाएर मैले मसाज गरिदिए। अनुहारमा पनि मेकअप गरिदिए। उनका नयां पोशाक झिकेर लगाइदिए।
 
आफन्तले लगेर बचेका र हराएर बाँकी रहेका गहनाहरु लगाइदिए। मिशेस रसेलसंग पहिला लाखौं डलर पर्ने गहनाहरु थिए। एक दिन उनले मलाई थुप्रै गहनाहरु दिएर लैजाऊ भनेकी थिइन्। तर मैले उनलाई सोधे – के तिमी एन्जेललाई किन्न सक्छ्यौ? उनी नाजवाफ भएकी थिइन् र आफ्ना गहना थन्क्याएकी थिइन। तर अहिले देख्दैछु – उनका लाखौ डलरका गहनामा अव केही हजार डलरका गहना मात्रै वांकी होलान्। जे वचेखुचेका गहना थिए मैले मिलाएर लगाइदिए। अव मिशेस सांच्चै नै व्युटी क्वीन देखिएकी थिइन्। महाप्रस्थानका लागि।
 
मैले नै वाइवल ल्याएर केही पदहरु पढिदिए। वाहिर गएर एक मुठी माटो ल्याए र छातीमा राखिदिए। छोरी, म एउटी हिन्दू महिला क्रिश्चियन विधिमा मिशेस रसेलको अन्त्येष्टिको काम गर्दै थिए। यी काम सकेर मैले मिसेस रसेललाई विस्तारै अंगालोमा वांधे र रोइरहे। विस्तारै भने – अल विदा मिसेस रसेल।
 
फनेरल होमको गाडीले मिशेस रसेललाई लिएर गयो। अव मलाई एन्जेल भनेर वोलाउने रसेल यो दुनियामा छैनन्। यतिवेला म नर्सिङ स्टेशनमा रोइरहेकी छु  तर अहिले मिसेस रसेललाई सम्झेर रोएको होइन। जव कहिलेकांही म रुन्थे, किन रोइरहेकी छु भनेर तिमी अनुमान गर्न सक्थ्यौ।
 
तर आज तिमी अनुमान गर्न सक्दिनौ छोरी। म मेरो वुढेसकाललाई संझेर रोइरहेकी छु भन्ने शायद तिमीले सोचेकी हुनुपर्छ। होइन। मैले जीव्ानमा धेरै दुख सहेकी छु। जीवन र मृत्युलाई नजिकवाट वोध गरेकी छु। आफन्तको माया वा वेवास्तालाई राम्ररी अनुभूत गरेकी छु।
 
त्यसैले म आफ्नो भविश्य सम्झेर रोइरहेकी छैन। तिमीलाई जीवनभर मैले दुख सहन सिकाइन। सुख नै सुख दिए। जीवन कति कष्टकरसम्म पनि हुन्छ भन्ने तिमीले अनुभव गरेकी छैनौ। जव तिमी वुढी हुंदै जान्छ्यौ, दुख पाउने हौकि भनेर मलाई साह्रै चिन्ता वढी रहेको छ किनकी त्यो वेला रुन तिमीसंग मेरो काख हुने छैन। म त मिसेस रसेलजस्तै परमात्मामा लीन भइसकेकी हुने छु। छोरी, म तिम्रो चिन्ता लागेर रोइरहेकी छु, किनकी म आमा हुं। 
 
तिम्री आमा 
लुइभेल, अमेरिका 
 
• किशोर सापकोटा 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs