सम्बन्ध नभएको प्रेम दिवस र नयाँ वर्ष मान्छौं, तर दशैंमा विरोध किन !– बैरागी काइँला

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको कुनै पुरानो ऐतिहासिक सहरको घरजस्तो । गेट खोलेर भित्र प्रवेश गर्नासाथ एकजना मानिस दृश्यमा आउँछन्, सेतो कुर्सीमा बसेर पत्रिका पढिरहेका ।

उनले पहिरिएको पहेंलो कुर्ता, ढाका टोपीमा पनि आँखा पुग्छ । कविता सम्झनासाथ टिएस इलियटजस्ता लाग्छन् वरिष्ठ कवि बैरागी काइँला । जीवनको चार बीस पूरा गरेका उनले बाल्यकालमा बीसको नोट पनि सायदै देखेका थिए होलान् । आपाहरूले हिसाब गर्दा भने सुनेका थिए कि ?

कान अलि कम सुन्छन् । तर, ताजगीपना भने ‘६० वर्ष बाँच्न पाऊँ’ भनेर प्रर्थना गरिहिँड्ने अहिलेका ककटेल पुस्तासँगजत्तिकै छ । कुर्सीमा बस्न इसारा गर्छन् । उनको आँखाले ‘किन आएको’ भनेर प्रश्न गरिरहेका थिए । भन्छु, ‘दसैँ विशेष कुरा गर्न आएको ।’ उत्तर आइहाल्छ, ‘ब्याकारको कुरा । केही छैन नयाँ । सबै पुरानै हो ।’

‘किराँत समुदायको दसैँ सौन्दर्यशास्त्र, बहिष्कार किन गरिरहेछन् ?’ लगायत म कुरा गर्न खोजेको विषय सुनाउँछु । ‘किराँत लिम्बू समुदायको दसैँ सैन्दर्यशास्त्र केही पनि छैन । हरेक साल किन विवाद झिक्नु,’ हरेक साल निस्कने विवादले वाक्क भएका काइँला बाजे बोेले, ‘मन परेन भने नमाने भइगयो नि !’ पत्रिका टेबलमा राख्छन् ।

उनले आफ्नो जीवनलाई पनि उसैगरी राखेका छन् । जहाँ आइपुग्नेहरूले पढेर फर्कन्छन् । यतिवेला लाग्यो, समय एउटा चिया पसल हो । मानिसहरू आइरहन्छन् । बैरागी काइँलाजस्ता हजारौँ पत्रिकालाई पढेर फिर्छन् ।

कुरा गर्ने मुुडमा त थिएनन् काइँला बाजे । गफ गर्दैै गएपछि विषयवस्तुभित्र प्रवेश भयो । दसैँ समग्र नेपाली समाजको दसैँ होइन । राज्यले छुट्टी दियो । मनायो । उनी बोले, ‘सांस्कृतिक हिसाबले आफ्नो होइन, तर पनि छिमेकी समुदायको चाडबाडमा कोही दुःखी हुँदैन ।

आनन्दले मनाइदिन्छ उसले पनि ।’ काइँलाले फेरि भने, ‘यही हो आदिवासी, जनजातिको राम्रो कुरा ।’ तर, दसैँसँग राई–लिम्बूको कुनै धार्मिक या ऐतिहासिक सम्बन्ध नभएको तर्क उनको छ । त्यसो भए मुन्धुम र दसैँको कुनै सम्बन्ध छैन ? ‘हाम्रो मुन्धुम र दसैँबीच कुनै सम्बन्ध नै छैन,’ काइँला बोल्छन् ।

सम्बन्ध हुँदा मात्र मान्नुपर्छ भन्ने कतै नभएको उनको मत छ । बोले, ‘नयाँ वर्षको सम्बन्ध हामीसँग के छ र ? हामी मानिबस्छौँ । वर्षमा एकपटक प्रेम दिवस आउँछ, हाम्रो के सम्बन्ध छ र ? संसारमा आएको नयाँ कुरा हो, हाम्रा युवा–युवतीले मान्छन् । भयो त !’

पहिलेको दसैँ र अहिलेको दसैँ उस्तै छ । केही पनि फरक छैन । बैरागी काइँलाको मत हो यो, ‘खाने, पिउने, रमाउने त्यति मात्र थियो र छ ।’ दसैँ मनाए पनि कुनै लिम्बूले नौ दिन पूजा गर्दैन । आफ्नो देउतालाई नै पूजा गर्छ ।

फेरि थपे, ‘त्यसको मतलब यो होइन कि अर्काको देउतालाई नराम्रो भन्यो ।’ बैरागी काइँलाको यसपटकको दसैँमा खासै योजना छैन । स्वास्थ्यका कारण मासु खान मिल्दैन । सिस्टममा छन् ।

बिहान स्फुर्तिका साथ उठेर अर्को बिहान आइपुग्दासम्म सिर्जनामा तल्लीन रहनु उनको दैनिकी हो । कहिले कसैले किताब विमोचनलगायत विभिन्न साहित्यिक कार्यक्रममा बोलाउँछन् । त्यता पनि भ्याउनुपर्छ । केटाकेटीले लुगा लगाउन खोज्छन् ।

किनिदिनुपर्छ । दसैँमा नै नयाँ लुगा किन त ? उत्तर आउँछ, ‘हरेक महिना, हरेक ऋतुमा नयाँ लुगा लगाउन सक्दैनथ्यो उहिले । उहिले बजार पनि टाढा थियो । दुई–तीन दिन हिँडेर पुग्थ्यो ।

त्यही कारण पनि हो दसैँमा लुगा ।’ काइँलाको बाल्यकालतिर नगद त्यति थिएन । फेरि तलब भनेर जग्गा दिन्थ्यो बाउबाजेलार्इं त्यो समयमा राज्यले । ‘अन्न फल्थ्यो । त्यसलाई नगदमा लान समय लाग्थ्यो,’ लिम्बू समुदायको घरको बलेंसीमा खसेको पानीको भाषा टिपेर कविता लेख्ने काइँला विगत सम्झिँदै बोले ।

राज्यले छुट्टी दिन्छ । राम्रो लुगा लगाइन्छ । मासुभात खाइन्छ । ‘त्यति नै त हो नि दसैँ !,’ बैरागी काइँला बोल्छन्, ‘धार्मिक सांस्कृतिक हिसाबले राई–लिम्बूले त्यति मानेर आएका छैनन् ।’ आदिवासी जनजातिले दसैँ बहिष्कार अभियान चलाइरहेकाबारे जिज्ञासा राख्दा काइँलाको प्रश्न आउँछ, ‘अर्काको चाड किन बहिष्कार गर्ने ?’ उनको मत थियो, म त मान्दिनँ भन्छ भने त्यो पाउँछ ।

विरोध नै गर्नुपर्ने या बहिष्कार नै गरेर हिँड्नुपर्ने कुरा अनावश्यक रहेको काइँलाको मत थियो । बोले, ‘एकअर्काबीच शंकाको वातावरण सिर्जना गर्न मद्दत गर्‍यो । त्यसले त केही पनि फाइदा गर्दैन ।’

अर्काको चाड नमान्दा हुने काइँला बताउँछन्, ‘बहिष्कार नै गर्नुपर्छ भन्ने छैन ।’ अनि आफ्नो भाषा, धर्म, संस्कृति त छायाका प-यो नि त ? ‘राज्यले जहिल्यै गर्छ त्यो,’ शीरको टोपी हातमा लिए, बोले, ‘आफूले चाहेको धर्मलाई काखी च्याप्ने हो । अरूलाई मिच्ने हो ।’

हिन्दू धर्मलाई राज्यले प्राथमिता दियो । त्यही भएर अन्य समुदायको चाडबाड ओझेलमा पर्‍यो । भाषा ओझेलमा पर्‍यो । त्यसका कारण छ भन्छन् काइँला, ‘हामी संख्यामा पनि कम भयौँ ।’ ती कुरा बचाउन आफ्नै ठाउँमा बसिरहनुपर्ने तर आफ्नै ठाउँमा बसिरहन नसक्नुलाई एउटा कारक देख्छन् काइँला ।

राज्यको उक्त एकात्मक नीतिप्रति उहिलेदेखि नै विरोध भएर आएको थियो । उनी बोल्छन्, ‘०४६ सालदेखि भने संगठित रूपमा आयो । त्यसको असर देखियो पनि । विभिन्न जनजातिका चाडबाडलाई राज्यले मन नपराएर भए पनि मान्यता दियो ।’

अनि राज्यले विभेद गरेको छ नि ? ‘विभेद भने देखिन्छ । राज्यले आदिवासी, अल्पसंख्याक, जनजातिको भाषा, धर्मलाई स्थानीयस्तरको मान्यता दिने हुँदा सांस्कृतिक विभेद देखिन्छ,’ टोपी शीरमा लगाएर फेरि बोल्छन्, ‘यसले गर्दा राज्यको नीति समावेशी, समतामूलक भएन ।’ हुन त यो छुट्टी नदिँदा पनि हुने बताउँछन् बैरागी काइँला ।

भने, ‘छिटो काम गरेर मुलुकलाई अगाडि लाने वेलामा ३६५ दिनमा झन्डै सय दिन छुट्टी हुँदो रहेछ । त्यसपछि बन्द, हडताललगायतले ल्याएको अर्को छ । त्यसो हुँदा सरकारीस्तरमा काम त झनै डेढ सय दिन पनि हुँदैन । अनि केको अगाडि जाने त मुलुक ?’ राज्यको विकासप्रतिको उदासीनतामाथि लगातार बोले उनी ।

यो प्रसंग बाल्यकालको दसैँको स्मृतिबारे सोध्दा आएको थियो । ‘मैले असत्य बोलेँ भने मीठो हुन्न । जे हो, त्यही बोल्छु । बाल्यकालको दसैँको त्यस्तो मीठो सम्झना छैन,’ फेरि एकपटक लगातार बोले, ‘तिमीलाई अरूले सोध्दा पनि ढाँटेर भन्छौ होला । अनि मीठो हुन्छ । म त ढाँट्न सक्दिनँ । बनाएर भनेको कुरा त झुट हो नि !’

एकपटक फेरि फिस्स हाँसे काइँला बाजे । राज्यले किराती लिम्बूको चाडलाई साँघुरो बनाएको छ नि? काइँला सहमत छैनन् यो कुरामा । असहमतिको मत राखे, ‘राज्यले मान भनेर मान्यौँ । तर, त्यसो गर्दै गर्दा आफ्नो पनि मनाउन छाड्यौँ भनेचाहिँ खत्तम हुन्छ ।’

सवाल मोडिन्छ । कुरा आउँछ भड्किलोपनाले दसैँको सौन्दर्यलाई गुमाएकोतिर । ‘सौन्दर्य भनेको के हो ?’ प्रतिप्रश्न गर्छन् काइँला बाजे । उनलाई यस शब्दको अर्थ मलाई थाहा छैन । बहुत प्रचलित शब्द हो यो हुन त । तर ‘सौन्दर्यशास्त्र’ भन्ने शब्दचाहिँ उनी प्रयोग गर्दैनन् ।

‘यसको शाब्दिक अर्थ के हो ?’ फिस्स हाँसेर फेरि प्रश्न नै गर्छन्, ‘यस शब्दलाई जुन कुराको लागि प्रयोग हुँदै छ, त्यसको औचित्य के हो ? शब्दकोशमा अर्थ अर्को छ, तर यो शब्दलाई नेपालमा अहिले जसरी प्रयोग भइरहेको छ, त्यो के हो ?’

प्रश्नै प्रश्नमा सकिन्छ कुरा । कुरा त कुरै हो, आइरहन्छ । आदिवासी, जनजातिको चाडबाड, भाषा साँघुरो हुँदै जानुको कारण ? लेख्य रूपमा नआउनु । त्यही भएर विवेचना नहुनु । व्याख्या नहुनु ।

अनेक कारण आएपछि बोले, ‘शक्तिको आराधना प्रिमिटिभ समाजमा पनि थियो । दसाैँमा पुजिने देवीदेउताजस्ता थिए हाम्रा पनि । तर, संगठित रूपमा हाम्रो संस्कृति अगाडि बढ्न सकेन ।’अनि टिकै लगाउन नहुने कुरा आइरहेको छ नि ?

अन्तिम अन्तिमतिरको मोडमा थियौँ । मेरा लागि चिया पनि आइपुग्यो । टेबलमा रहे चियाका ग्लास । ‘टीका लगाउनु, नलगाउनु आफ्नो परम्पराको कुरा हो । हामीले नलगाउँदा हुन्छ, कुराको बिट मार्दै बोले, ‘उनीहरूले आदिवासीलाई जितेको कारणले लगाएको त भनेका छैनन् नि ? आफूभन्दा मान्यजनको आशीर्वाद लिने कुरा । नराम्रो त छैन नि ! र मान्नैपर्छ भन्ने नि छैन । तर, विरोध नै गरेर हिँड्नुको कुनै अर्थ छैन ।’- नयाँ पत्रीका 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs