June 24, 2017, 4:08 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

ट्यांकरको पानीले उपत्यकामा हैजा

काठमाडौं । ट्यांकरबाट वितरण गरिएको अत्यधिक प्रदूषित पानीका कारण उपत्यकामा हैजाले प्रकोपको रूप लिएको पुष्टि भएको छ । विगत एक महिनादेखि ललितपुर, भक्तपुर र काठमाडौं जिल्लाका विभिन्न स्थानमा फैलिरहेको हैजाको मुख्य कारक दिसा मिश्रित प्रदूषित पानी 'कोलिफर्म' भएको स्वास्थ्य सेवा विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ ।

हैजाका संक्रमितले पिउँदै आएको पानीको नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा करिब ५० प्रतिशत पानीको नमुना दिसा मिश्रित प्रदूषित भएको फेला परेको हो । महाशाखा, जिल्ला जनस्वास्थ्य कार्यालय र जोन हप्किन्स विश्वविद्यालयबाट खटिएको टोलीले स्थलगत अध्ययनपछि संकलन गरेको ९६ वटा पानीका नमुना जाँच गर्दा ४६ वटामा कोलिफर्म पाइएको महाशाखाका डा. गुणनिधि शर्माले बताए ।

'हैजा फैलिएलगत्तै हामीले संक्रमित बिरामीले पिउँदै आएको पानी, खाँदै आएको खाना, उनीहरूले अपनाउँदै आएको सरसफाइ र स्वस्थ जीवनशैलीका सम्बन्धमा स्थलगत अध्ययन सुरु गरेका थियौं ।

मुख्य रूपमा प्रदूषित पानीबाट हैजाका जीवाणु मानिसमा सरेको पाइएको छ', बुधबार हैजा प्रभावित ललितपुरको बालकुमारीमा स्थलगत अध्ययनका क्रममा भेटिएका डा. शर्माले भने, 'फोहोर र सढेगलेको खाना, सरसफाइको अभाव पनि सहायक कारक बनेका छन् हैजा फैलिनुमा ।'

 

उपत्यकामा हालसम्म ३३ जनामा हैजा भएको पुष्टि भइसकेको छ । ललितपुरको सुन्धारामा ७, ठैवमा ५, हरिसिद्धि र बालकुमारीमा ४–४ जना, बाफल र धापाखेलमा २–२ जना, धाँचीअलापोट, सामाखुसी, भैंसीपाटी, त्रिपुरेश्वर, एकातन्कुना, कुपण्डोल, इमाडोल, बगलामुखी र जडीबुटीमा १–१ जनामा हैजा पुष्टि भएको हो । उनीहरू अधिकांश पाटन र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार गरेर घर फर्किएका छन् ।

बालकुमारीमा साढे चार वर्षीय बालकमा पनि हैजा पुष्टि भएपछि महाशाखाले विशेष सावधानीका साथ खोजपड्ताल र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले बताए । महाशाखाको टोलीले हैजा पुष्टि भएका हरेक बिरामी र उनको परिवारलाई भेटेर पानी शुद्धीकरण, सरसफाइ, स्वस्थ खानेकुराबारे परामर्श गर्दै पानी शुद्धीकरण गर्ने विभिन्न किसिमका कोलोरिन ट्याब्लेटसमेत वितरण गरिरहेको छ ।

स्थलगत अध्ययनका क्रममा डा. शर्माको टोलीसँग कुपण्डोल र सानेपाको सिमानामा पर्ने बागमती नदीको किनारमा बस्दै आएका र एकै परिवारमा दुईजनालाई हैजा पुष्टि भएको परिवारले पैसा अभावले कुवाको पानी खाने गरेको र रोग लागेपछि जारको पानी खान थालेको बताएका थिए ।

'एकजनाले कबाडी संकलन गरेको पैसाले ६ जनाको परिवार पालिनुपर्छ । छाक टार्न मुस्किल पर्ने हामीले कति दिन पानी किनेर खान सक्छौं र ? ' हैजाबाट संक्रमित बनेका एकजनाले भने, 'रोग लागेपछि भने डर लाग्यो र जसातसो जारको पानी किनेर खाइरहेका छौं । त्यो पनि कस्तो पानी हो हामीलाई थाहा छैन ।'

उपत्यकामा गत वर्ष यसै समयमा ७६ जनामा हैजाको संक्रमण फैलिएको थियो । यस वर्ष त्यो संख्या पनि नाघ्ने अनुमान स्वास्थ्य अधिकारीहरूले गरेका छन् । 'पहिलेपहिले जुलाई अन्तिमतिर हैजाका जीवाणु देखापर्ने गरेको थियो तर यसपालि सुरुमै देखियो', जनस्वास्थ्य अधिकृत लामिछानेले भने, 'नियन्त्रणमा आफूहरू जुटेपनि यो संक्रमितको संख्या बढ्न सक्ने देखिन्छ ।'

हैजा नियन्त्रणका लागि महाशाखाले उपत्यकाका ११ वटा अस्पताललाई त्यससँग सम्बन्धित बिरामी आउनासाथ आफूहरूलाई सूचना दिन र प्रभावकारी उपचार थाल्न निर्देशनसमेत दिएको छ । महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीका अनुसार भिब्रियो कलेरा नामको जीवाणुका कारण विशेषगरी मानिसको सानो आन्द्रामा संक्रमण हुने रोगका रूपमा चिनिएको हैजा प्रदूषित पानी र खाना, सरसफाइ अभावका कारण फैलिने गरेको छ ।

यसबाट बच्न पानी उमालेर मात्र पिउने, जारको पानी पनि शुद्धीकरण गरेर पिउन, बजारमा पाइने बरफ, आइसक्रिमबाट जोगिने, खानुभन्दा अघि हात राम्रोसँग धुने, झिँगा भन्केको, बासी र धेरै चिसो पदार्थ नखाने, जहाँ पायो त्यहींको पानी र खानेकुरा खान नहुने चिकित्सकको सुझाव छ । निरन्तर तथा ठूलो मात्रामा पातलो दिसा लाग्नु, बान्ता हुनु, मासंपेसी बाउँडिनु जस्ता लक्षण भएका हैजाका कारण लाग्ने पखालाले केही घन्टाभित्रै जलवियोजनलगायतको समस्या सुरु भई मानिसको मृत्युसमेत हुन्छ ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार