June 23, 2017, 9:19 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

निवर्तमान मन्त्रीको गाडी बाटोमै खोसियो

काठमाडौं  नयाँ मन्त्रीको शपथ ग्रहण सम्पन्न भएलगत्तै बीच बाटोमै गाडी खोसिएपछि निवर्तमान युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल हिँडेरै डेरा पुगेका छन् । बिहीबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा बाटोमै गाडी खोसिएपछि मण्डल हिँडेर डेरा पुगेका हुन् ।

 

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित भएपछि मन्त्रीक्वार्टर छाडेका मण्डल बानेश्वरमा डेरा सरेका छन् । शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा मण्डलले आफूले प्रयोग गर्दै आइरहेको झन्डावाल गाडी नयाँ मन्त्रीका लागि फर्काइदिएका थिए । त्यसपछि उनले डेरासम्म पुग्न आफ्नो सचिवालयले प्रयोग गरेको सेतो रङको गाडी झिकाएका थिए ।

 

तर मन्त्रालयका कर्मचारीले त्यो गाडी लान नदिएपछि उनी मध्यबानेश्वरबाट झन्डै डेढ किलोमिटरभित्र रहेको डेरामा हिँडेरै पुगेका थिए । जिम्मेवारीबाट मुक्त भएको २४ घन्टा पनि नबित्दै मन्त्रालयका कर्मचारीले देखाएको व्यवहारबाट निवर्तमान मन्त्री मण्डल दुःखी बनेका थिए । मण्डलका स्वकीय सचिव दुर्गानन्द ठाकुरले मन्त्रालयका कर्मचारीले व्यक्तिगत रिस पोख्न गलत व्यवहार गरेको बताए ।

 

'हामी प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रमबाट ५ बजे फर्कंदै थियौं । मन्त्रीज्यूले त्यहींबाट नयाँ मन्त्रीका लागि आफूले प्रयोग गर्दै आएको झन्डावाल गाडी फर्काइदिनुभयो', ठाकुरले भने, 'त्यसपछि उहाँले डेरासम्म पुग्न सचिवालयको गाडी मगाउनुभएको थियो तर मन्त्रालयले पठाएन । मन्त्रालयका सहसचिव चूडामणि पौडेलले व्यक्तिगत रिस पोख्न गलत व्यवहार देखाए ।'

 

ठाकुरका अनुसार मन्त्रीले प्रयोग गर्ने झन्डावाल गाडीबाहेक मन्त्रालयले स्वकीय सचिवालयलाई थप एउटा सेतो रङको गाडी र एउटा मोटरसाइकल दिएको थियो । मण्डलले झन्डावाल गाडी फिर्ता गरेर डेरासम्म पुग्न सचिवालयको त्यही गाडी मगाएका थिए । स्वकीय सचिव ठाकुरले कार्यालय समय सकिएपछि ती सामानको बरबुझारथ गर्न सहसचिव पौडेलले ताकेता गरेको बताए ।

 

'बिहीबार शपथग्रहण कार्यक्रममै पाँच बजिसकेको थियो । कार्यालय समय सकिएकाले हामीले नै मन्त्रीको सचिवालयमा रहेका गाडी, मोटरसाइकललगायत मन्त्रालयका सामान शुक्रबार बरबुझारथ गर्ने जानकारी गराएका थियौं', ठाकुरले भने, 'तर पौडेलले राति आठ बजे फोन गरेर ती सामान छिटो बरबुझारथ गर्न निर्देशन दिएका छन् । कार्यालय समय सकिएपछि कसलाई गएर बुझाउनु ? '

 

सहसचिव पौडेलले भने आफूले नयाँ मन्त्रीका लागि झन्डावाल गाडी मगाएको तर बाँकी कुरा आफूलाई थाहा नभएको बताए । 'नयाँ मन्त्री आउनुभएपछि उहाँलाई चाहिएकाले मैले झन्डावाल गाडी मगाएको हुँ', पौडेलले भने, 'अन्य कुरा थाहा भएन ।' मन्त्रालयका सचिव लक्ष्मण मैनालीले पनि निवर्तमान मन्त्रीको गाडी बीचैमा खोसिएको बारे आफूलाई जानकारी नभएको बताए । उनले भने, 'निवर्तमान मन्त्रीज्यूले झन्डावाल गाडी फर्काइदिनुभएको छ । अन्य कुरा मलाई थाहा छैन ।'





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार