Tuesday, 2nd June, 2020

कोरोना संक्रमितको उपचार गर्दागर्दा थाकेका डाक्टरको चेतावनी

डा. फ्रेड मिलग्रिम : 

इमर्जेन्सी विभागको प्रतीक्षालयमा बसेकामध्ये डेढ सय जनाजति ज्वरो आएका कारण चिन्तित छन्। पर्खिरहेका केही मान्छे परीक्षण गराउन मात्र आएका हुन्। अरु थुप्रैलाई तत्काल गम्भीर उपचारको खाँचो छ। मृत्युको मुखमा नपुगिसकेकाहरुले डाक्टरलाई भेट्न पनि ६, ८ वा १० घण्टा पर्खिनुपर्ने हुनसक्छ । अस्पतालमा भर्ना भइसकेकाहरुले बेड पाउन एक दिन कुर्नुपर्ने हुनसक्छ। 

म इमर्जेन्सी–मेडिसिन डाक्टर हुँ। म म्यानहटन र क्विन्स दुवै ठाउँमा काम गर्छु। यसबेला म क्विन्समा छु। यतिबेला यहाँको अवस्था डरलाग्दो छ। मभन्दा सिनियरहरुले पनि यस्तो भयानक दृश्य यसअघि देखेका थिएनन्। यहाँ महामारीको उत्कर्ष रोक्न सकिएको छैन। हामी अत्यन्त व्यग्र र थकित भइसकेका छौँ।

न्युयोर्कमा व्यापक परीक्षण गर्ने एउटा समय थियो, तर त्यसलाई हामीले गुमायौँ। चीनले इटलीलाई चेतावनी दिएको थियो, इटलीले हामीलाई। तर, हामीले सुनेनौँ। अब अमेरिकाको एउटै कर्तब्य भनेको न्युयोर्कलाई सुन्नु हो।

यहाँका थुप्रै मानिसका लागि कोरोना भाइरस अदृश्य भय मात्रै हो। तर, न्युयोर्कको इमर्जेन्सी कक्षभित्र भाइरसलाई निकै भयानक रुपमा देख्न सकिन्छ।

हतारहतारमा बनाइएको कोभिड–१९ युनिटमा आइपुगिसकेपछि हरेक दिन म गाउन लगाउँछु। एन९५ मास्क र तीन वटा पञ्जा पनि खप्ट्याएर लगाउँछु। बीचमा एक वा दुई पटक चिसो पिजा र कफी खानका लागि बाहेक १२ घण्टासम्म यो पहिरन खोल्न मिल्दैन।

महामारी सुरु हुनुभन्दा पहिले हरेक नयाँ बिरामीका लागि म नयाँ मास्क लगाउने गर्थेँ। अहिले त्यस्तो छैन। किनभने मास्क नै छैन। मेरो नाकको डाँडीमा चिराचिरा परेर रगत आउलाजस्तो भएको छ। तर, म आफूलाई भाग्यमानी ठान्छु। किनभने म काम गर्ने अस्पतालमा थोरै भएपनि अझै मास्क आइरहेको छ। जसले म र मेरा साथीहरुको सुरक्षा गरिरहेको छ।

अपर्झट चिकित्सकीय सहयोगको आवश्यकता नपरी घरबाट ननिस्किनू भन्ने सन्देश मेरा थुप्रै बिरामीले बुझेका छैनन्। खोकी लाग्दैमा वा ज्वरो आउँदैमा उनीहरुको कोरोना परीक्षण हुँदैन। त्यसरी यहाँ आएकालाई म डिस्चार्ज पेपर दिन्छु र कोरोना भाइरसबाट कसरी बच्ने भन्ने पुस्तिका थमाएर सेल्फ आइसोलसनमा बस्न सुझाउँदै विदा गर्छु। त्यसपछि म अर्को बिरामीतिर लाग्छु। अस्पताल आउनुअघि उनीहरुलाई कोरोना भाइरस थिएन भनेपनि सम्भवतः अब लागेको हुनुपर्छ।

यहीबेला मेरा सहकर्मीहरु क्रिटिकल केयर युनिटमा बिरामीहरुको उपचार गरिरहेका छन्। ती बिरामी मुस्किलले बोल्न सक्छन्। तिनलाई एकैछिनमा ‘ब्रिदिङ ट्युब’ आवश्यक पर्न सक्छ।

यही महिनाको सुरुमा बिरामीलाई सीपीएपी मेसिन प्रयोग गर्दा स्वास्थ्यकर्मीलाई भाइरस सर्ने जोखिम हुन्छ भनिएको थियो। तर, अहिले भेन्टिलेटर नपाएपछि हामी त्यही प्रयोग गरेर पनि बिरामीलाई बचाउन लागिपरेका छौँ।

हामीले आश्चर्यजनक संख्यामा बिरामीलाई ट्युबमा राख्नुपरेको छ। लगभग सबै भेन्टिलेटर अहिले प्रयोगमा छन्। आईसीयू पूरै भरिएको छ। कहिलेकाहीँ यताउताका अस्पतालबाट भेन्टिलेटर आइपुग्छन्, तर तिनले केहीबेरको खाँचो मात्र टार्न सक्छन्।

के हामीले अब दुई जना बिरामीलाई एउटै भेन्टिलेटर प्रयोग गर्नुपर्ने अवस्था आउँदैछ? यस्तो प्रयोग गर्ने हामी पहिलो अस्पताल हुने छैनौँ। किनभने लस भेगास गोलीकाण्डका घाइतेहरुमा यस्तो प्रयोग गरिसकिएको छ। तर, कोभिड–१९ का बिरामीहरुको फोक्सो नाजुक हुन्छ। त्यसैले दुई जनालाई एउटै भेन्टिलेटर प्रयोग गर्नु खतरनाक हुनसक्छ। तर, यसबारे हामीले पहिले नै अध्ययन थालिसकेका छौँ।
अर्को सातादेखि हामीसँग दुई जनामा एउटै भेन्टिलेटर प्रयोग गर्नुको विकल्पै नहुन सक्छ। हामीले अहिले घर पठाएका तुलनात्मक रुपमा स्वस्थ सयौँ बिरामी सास फेर्न नसकेर अस्पताल फिर्ता आउन सक्छन्।

fred-.jpgडा. फ्रेड मिलग्रिम

बुधबार मैले एक साताअघि डिस्चार्ज गरेको बिरामीलाई फेरि अभिवादन गरेँ। बोर्डमा उनको नाम देखिँदा मेरो मुटु निचोरियो। उनी ५० पनि पुगेका छैनन्। पहिले बिरामी पनि खासै परेका थिएनन्। सबथोक ठिकठाक देखिन्थ्यो। तर, अहिले उनी सास फेर्न नसकेर छटपटाइरहेका छन्। छातीको एक्सरे गरेपछि चिन्ता झन् थपियो। निश्चय नै उनलाई कोभिड–१९ भएको थियो। मैले उनलाई अस्पताल भर्ना गरेँ र बेडमा लगेर अक्सिजन, हार्ट मनिटर जोडेँ।

गत साता डायलासिस गराइरहेकी एक वृद्ध महिलाको मैले जाँच गरेँ। उनलाई सामान्य खोकी लागेको थियो। उनको भाइटल साइन सबै ठिकै थियो, ज्वरो थिएन। एक्सरेमा फोक्सो सफा देखिएपछि हामीले उनलाई घर पठाउने निर्णय गर्‍यौँ। तर, ट्याक्सी नआइपुग्दै उनको ज्वरो १०२ डिग्रीभन्दा माथि पुग्यो। तत्काल योजना परिवर्तन भयो। उनको उमेर र जटिल रोगका कारण हामीले उनलाई भर्ना गर्‍यौँ।

भोलिपल्ट राति मेरो छेऊबाट एउटा स्ट्रेचर गुड्दै पार भयो। चिकित्सकहरुले स्ट्रेचरका बिरामीको छाती थिचेर सास फेराउने प्रयास गरिरहेका थिए।

उनलाई मृत घोषित गरिसकेपछि मात्रै मैले उनको नाम थाहा पाएँ। तिनी अघिल्लो रात मैले हेरेकै बिरामी थिइन्। वार्डमा उनले बेड पाउनुअघि नै उनलाई हृदयघात भएको थियो। कोभिड–१९ का कारण मृत्यु भएको उनी मेरो पहिलो बिरामी थिइन्। त्यसयता यो संख्या निरन्तर उकालो लागिरहेको छ।

केही दिनअघि बल्ल फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी यो संकटमा सहयोग गर्न यहाँ आइपुग्यो। जसका कारण केही परीक्षण बढ्यो, केही भेन्टिलेटर थपिए। मृतकहरुको शव राख्न ट्रकमै निर्मित शवघर पनि आइपुग्यो। जसले निरन्तर बढिरहेको शव संख्या कम गर्न सहयोग गर्‍यो। तर, यति सहयोग हामीलाई पर्याप्त हुने छैन।

म र मेरा सहकर्मीहरु यो महामारीका विषयमा असहायपूर्वक कुराकानी गर्छौँ। हामीमध्ये केही बिरामी भइरहेका छन्। हाम्रा लागि क्षणमै संसार बदलिन सक्छ। हामीले हेर्नुपर्ने बिरामीको मात्रा र तरिका दिनदिनै परिवर्तन हुन्छ। जुनसुकै दिन मास्क सकिन सक्छ। हामी थुप्रै कुरा सोच्छौँ तर एकअर्कासँग भन्न डराउँछौँ।

म तपाईंलाई आफ्नो अस्पतालमा देख्न चाहन्नँ। अमेरिकाको कुनैपनि अस्पताल गएको देख्न चाहन्नँ। तपाईं आफ्नो घरबाट निस्केको म देख्न चाहन्नँ। अस्पताल भर्नाको आवश्यकता नपरुञ्जेल तपाईं कोरोना भाइरसको परीक्षण गर्न नजानुहोस्।

कसलाई कोरोना लागेको छ, कसलाई छैन भन्ने जान्दैमा हामी अग्रभागमा भएका स्वास्थ्यकर्मीलाई केही फरक पर्दैन। त्यसले बिरामीलाई उपचार गर्ने हाम्रो क्षमता वा अक्षमता परिवर्तन गर्दैन। स्वस्थ स्वास्थ्यकर्मी, सुरक्षा सामग्री, बेड, भेन्टिलेटर, आदिको अभाव चाहिँ मुख्य समस्या हो। नाकबाट स्वाब निकालेर परीक्षण गर्दैमा कुनै जवाफ प्राप्त हुँदैन।

यदि तपाईंलाई सामान्य लक्षण देखिएको छ भने ठान्नुहोस्, तपाईंलाई कोरोना भाइरस लागिसकेको छ। त्यसपछि तपाईं घरमै बस्नुहोस्, हात धुनुहोस्, आफ्नो डाक्टरलाई फोन गर्नुहोस्। खोकी लाग्यो वा ज्वरो आयो भन्दैमा जुरुक्क उठेर इमर्जेन्सीमा भर्ना हुन नआउनुहोस्। परीक्षणपछि पनि हामीलाई तपाईंलाई दिने सल्लाह उही हो– सेल्फ आइसोलेसनमा बस्नुस्। तपाईंलाई संक्रमितसँग एक्सपोज गर्न हामी चाहन्नौँ।

सोसल डिस्ट्यान्सिङ न्युयोर्कमा निकै ढिला लागू गरियो, जसका कारण यसले संकट टार्न सकेन। यद्यपि यो अझै महत्वपूर्ण छ। सम्भवतः कडा उपायहरुले नै अरु सहरमा यस्तो संकट रोक्न सक्छ।

नराम्रा समाचारको माझ हिजो यो अस्पतालका डाक्टरहरुले एउटा खुसीको खबर सुन्न पाए। एक जना कोरोना संक्रमित व्यक्तिको दुई सातापछि भेन्टिलेटर हटाइयो। हाम्रो मेडिकल आईसीयूको यो पहिलो सफलता थियो भने स्वास्थ्यकर्मी र बिरामीका लागि एउटा मिठो विजय।

(दि एटलान्टिकबाट)


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता