'ढिस्कोले पुरिएछु'
काठमाडौ । आरोहणको बाटो भोलिपल्टै बनाउने योजनाका साथ पथप्रदर्शक (गाइड) काजी शेर्पा बिहीबार राति ढुक्कले सुतेका थिए । अर्को समूहका गाइडहरू शुक्रबार बिहान तीन बजे नै उठेर हिँडेपछि उनीसहितको ६ जनाको टोली पनि एक घन्टा पछि क्याम्पबाट उकालो लाग्यो ।
'मसँग रेडियो कन्ट्याक्ट थियो, उठेपछि सन्देश आयो । अलि माथि बाटो बिग्रेको छ । बिस्तारै आउनु,' काजीले सम्झे 'अघिल्लो रातसम्म त मौसम ठीकै थियो । के भएछ ।' हिमपहिरोमा घाइते भएपछि शुक्रबारै काठमाडौं ल्याएर नर्भिकको एमआईसीसीयूमा उपचार गराइरहेका उनले यसरी विपत्ति आउला भनेर कल्पनासमेत गरेका थिएनन् ।
उनको टोली बाटो बिग्रेको स्थानसम्म पुग्दा त्यहाँ ट्राफिक जाम थियो । 'सुरक्षा व्यवस्था मिलाएर बाटो सहज बनाउन म र मेरा साथी अरूभन्दा अगाडि लाग्यौं,' उनले भने, 'काम गर्दै थियौं, माथिबाट अचानक ठूलो हिउँको ढिस्को खस्यो ।' त्यसपछि पनि ढिस्को खस्न रोकिएन । लगातार हिउँको पहिरो जान थालेपछि उनी र उनका साथी त्यहाँबाट भाग्न खोजे । तर सफल भएनन् ।
उनीसँगै अरू साथीलाई पनि हिउँले छोपेछ । 'ढिस्कोले लागेपछि बेहोस भएँ,' उनले भने, 'होस आउँदा आधा शरीर हिउँमा पुरिएको थियो । बल्लबल्ल बाहिर निस्केँ ।' उनले सँगै गएका अरू साथीलाई खोजे । तर उनीसँगै अगाडि लागेकामध्ये तीन जनाको मृत्यु भइसकेको थियो ।
घाइतेमध्ये काजी अलि बढी सुरक्षित छन् । दाबा तासी शेर्पालाई सबैभन्दा बढी असर परेछ । उनलाई ग्रान्डी अस्पताल धापासीको आईसीयूमा राखिएको छ । तासीको हातमा प्रत्यक्ष देखिने चोट बढी छ । श्वासप्रश्वासमा पनि कठिनाइ भइरहेको स्वास्थ्यकर्मीले बताए । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्वतारोहण महाशाखा प्रमुख मधुसूदन बुर्लाकोटीका अनुसार बिहान करिब साढे ६ बजेतिर आएको हिमपातमा परी काजी र तासीसहित ६ जना घाइते भएका छन् ।
सात वर्षदेखि पर्वतारोहण पथप्रदर्शकको काम गरिरहेका काजी झन्डै डेढ महिनाअगाडि काठमाडौंबाट सगरमाथा आधार शिविरतर्फ लागेका थिए । उनका तीन साथीसँगै अन्य ९ गरी १२ जना नेपाली पर्वतारोहण पथप्रदर्शकको मृत्यु भएको छ ।
सगरमाथा आधार शिविर र पहिलो क्याम्पको बीचको करिब ५ हजार ८ सय मिटर उचाइको क्षेत्रमा हिमपात भएको थियो । 'अझै चार जना हराइरहेका छन्,' मन्त्रालय प्रवक्ता मोहनकृष्ण सापकोटाले भने, 'शनिबार फेरि उनीहरूको खोजी हुनेछ ।' उनका अनुसार जलवायु परिवर्तनका कारण बेमौसममै हिउँ पग्लिनाले यस्तो समस्या आएको हो । गतवर्ष पनि मनास्लुमा हिमपात हुँदा एक दर्जन (स्वदेशी/विदेशीसमेत) ले ज्यान गुमाएका थिए । पर्वतारोहण सुरु हुनुअघिको घटनाले सबैलाई सचेत बनाएको बुर्लाकोटीले बताए ।
उनका अनुसार आधार शिविरमा यस्ता घटनामा परेकालाई छिटो सहयोग उपलब्ध गराउन सरकारले ७ जना सम्पर्क अधिकृत खटाएको छ । टोली सदस्यको सुरक्षाका लागि शुक्रबार नै सरकारले आठ हजार मिटर उचाइका कुनै पनि हिमाल चढ्दा टोलीसँग रहेका गाइडबाहेक स्थानीय 'हाई अल्टिच्युड' गाइड पनि अनिवार्य राख्नुपर्ने प्रावधान बनाएको छ ।
आरोहणको मौसम सुरु हुनासाथ बाटो बनाउन नेपाली शेर्पा पथप्रदर्शक सगरमाथा पुगेका थिए । उनीहरूले बाटो बनाइसकेपछि मे दोस्रो सातादेखि आरोही शिखरको चुचुरोतर्फ लाग्छन् ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार सगरमाथामा यस्तो हिमपात भएको यो तेस्रो हो । यसअघि सन् १९९६ र १९७० मा सर्वोच्च शिखरमा हिमपात भएको थियो । १९९६ मा ८ जना आरोही र १९७० मा ६ जना नेपाली पथप्रदर्शकको ज्यान गएको थियो । यसपटक सगरमाथा आरोहणका लागि हालसम्म ३२ टोली (एक नेपाली) का करिब ३ सय ५० जनाले अनुमति लिएका छन् । अहिलेसम्म ४ हजार ४ सय ११ ले सगरमाथा आरोहण गरेकोमा चुचुरो चढ्दा/झर्दा गरी सन् १९५३ यता २ सय ५० जनाको मृत्यु भएको छ ।
सगरमाथाको आधारशिविरबाट पहिलो क्याम्पमा उक्लने मार्गमा शुक्रबार हिमपहिरोमा परी घाइते भएकाको उद्धार गरिँदै । तस्बिर : बुद्धवीर राई/रासस

काठमाडौं । उपत्यका लगायत देशैभरी गए रातिदेखि नै पानी परिरहेको छ । पानीसँगै देशका हिमाली र उच्च पहाडी क्षेत्रमा बाक्लो हिउँ पर्दा त्यहाँको जनजीवन कष्टकर बन्न पुगेको छ । त्यस्तै...

पोखरा । कास्की जिल्लाको रुपाकोट गाउँपालिका–६ मा सञ्चालित रुपाकोट रिसोर्टले विदेशी राष्ट्रप्रमुख स्तरका अतिविशिष्ट पाहुनालाई लक्षित गरी स्वीट रुम तयार गर्ने भएको छ ।रुपाकोट रिसोर्ट...

आकारमा सानो र आर्थिक हिसाबले गरीब भनिए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ । त्यसैले यहाँ घुम्नका लागि उपयुक्त धेरै गन्तब्यहरु छन् । विदा कसरी...

प्राकृतिक सुन्दरतामा रमाउन चाहने विदेशी एवं स्वदेशी पर्यटकका लागि खुशीको खबर । सुदुरपश्चिमका दुई मनमोहक स्थल खप्तडदेखि रारासम्मको पदयात्रा खुलेको छ । हालै एउटा टोलीले पहिलोपटक यो...
काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...